हो, प्रकृतिमा अँध्यारो छ
हरेक दिनको अन्त्यमा रात पर्छ
हरेक रात अँध्यारो हुन्छ
मैले उज्यालो देखेको छ
हरेक रातपछि घाम उदाउँछ
दिन सधैँ उज्यालो हुन्छ
अँध्यारो भोग्न आँखा मात्र चिम्ले पुग्छ
मैले आँखा निभाउँदा अँध्यारो हुन्छ
त्यसैले म आँखा खोल्छु
अँध्यारो उज्यालो सबैलाई उस्तै हो
ऊ अँध्यारो आफ्नो भागमा मात्र देख्छ
त्यसैले अँध्यारोले पनि उसलाई पछ्याइरहन्छ
ऊ अँध्यारोलाई सराप्छ
सरापेर रात उजेलिन्न
ऊ बत्ती बाल्न जान्दैन
म अँध्यारोलाई सुतेर बिताइदिन्छु
त्यसअघि सानो टुकी बालिदिन्छु
भोलिको उज्यालोमा विश्वास राख्छु
गाली गरेर अँध्यारो भाग्दैन
स्तुति गाएर उज्यालो आउँदैन
बत्ती बाले अँध्यारो भाग्छ, घाम लागे उज्यालो हुन्छ
हो, अँध्यारो र उज्यालोमा फरक छ
प्रकृतिमा दुवै हुन्छ
प्रकृतिका लागि दुवै उस्तै हो
हो फरक हुन्छ
उज्यालो फरक छ
अँध्यारो फरक
उज्यालो रोज्ने धेरै छन्
खोज्ने पनि छन्
उज्यालो बनाउने कम हुन्छन्
फरक हुन्छ
फरक छ
कालसम्म फरक रहन्छ ।

काठमाडौँ