जहाँको धुवाँ धूलो सुगन्ध लाग्थ्यो
जहाँको माटोको सुगन्ध
हृदयमा
प्राण भएर धड्किन्थ्यो
जहाँको बादल प्रेमको महक बोकेर
शिरमाथि उड्थ्यो
जहाँका पखेराहरूमा
जीवनको सौन्दर्य झल्किन्थ्यो
टारबारीभरि त कलिला सपनाहरू फुल्थे
कोठेबारीबाट आमाले
खाना खान बोलाउँदाको सङ्गीत
के बलिउडको भन्दा कमको थियो ?
जहाँको एक लहर घरका छायाँमा
मनले आत्मियता महसुस गर्थ्यो
राजनीति सप्रिन्थ्यो त्यही वरपर
आँगनको चौघेराभित्र
सद्भावको बुर्ज खलिफा ठडिन्थ्यो
प्रेमको एफिल टावर उठ्थ्यो
घरको कुनै कुनामा; कुनै बेडमा
लस भेगस नाइटको सुगन्ध चल्थ्यो
त्यहीँ कतै
ट्रम्पको ‘डाइट कोक’ राखिदिन्थिन् सखी
लण्डन ब्रिज जस्तै लाग्थ्यो
तरेर पँधेरोसम्म पुग्ने पुल
बिहान घामको पहिलो किरणले
घरको बार्दली माथिमाथि हिँड्दै
आएर, निधारमा चुम्दै
गुड मर्निङ भन्थ्यो
जहाँका कच्ची बाटाहरू
जतासुकै बटारिए पनि
घरकै मूल ढोकासम्म फर्किएर टुङ्गिन्थे
किन आज जीवन भेट्दिनँ यहाँ ?
किन आज जीवन भेट्दै भेट्दिनँ यहाँ ?
मेरा स्वार्थी इच्छाहरूलाई
तगारो हालिदेऊ मेरो देश !
मेरा सपनाहरूका पङ्खहरू काटिदेऊ !
यी पाखुराहरूमा माटो आवाद गर्ने
सामर्थ्य छ, मलाई विश्वास गर
बिन्ती अलिकति चलाइदेऊ !
अलिकति प्रयोगमा त ल्याऊ !
यूरोप अमेरिकाका सपनाहरूलाई
चिहान खन !
बरु यहीँ लिएर आऊ
यूरोप अमेरिका !
यहीँ लिएर आऊ त्यहाँको सौन्दर्य !
त्यहाँको विकास !
मेरो पहाड, मेरो मधेश, मेरो देश
मलाई आफूबाट अलग हुनबाट रोक !
समाहित हुन परे ए मेरो माटो !
म तिम्रै छातीमा, तिम्रै वात्सल्यमा
समाहित हुन चाहन्छु
यो देहलाई अरु कसैको माटो
स्वीकार्य छैन ।
०००
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।