धर्म धर्म रहेन
मन्दिर मन्दिर रहेन
तिम्रो अस्तित्व साँचिक्कै देखाइदेऊ अब
साँच्चै अब ढुङ्गा भगवान् रहेन

यति त हुनै पर्छ अब
धर्मले धर छोड्न नपरोस्
मन्दिरले मन तोड्न नपरोस्
अब तिमी आफैँ बोलिदेऊ मेरो भगवान्
म ढुङ्गाले ढुङ्गा पुज्न नपरोस् अब

एक ढक्की घुस फूल ल्याइदिऊँ कि?
प्यास लागे जलको मूल ल्याइदिऊँ कि?
बिन्ती गर्छु मेरो भगवान् बिन्ती
एक बोली फोरिदेऊ
होइन भने केही संकेत छोडिदेऊ

विश्वास गर
म ढोङ्गी होइन, पाखन्डी होइन
अक्षता र जौ तील मेरो चाखडी होइन
यी नास्तिकहरूलाई तिम्रो अस्तित्व चाहिएको छ
किन बुझ्दैनौ तिमी ?
किन मौन बस्दै छौ ?

म धुप बाल्छु तिमी रुप देखाइदेऊ
म कुहासा देख्छु तिमी आभा भेटाइदेऊ
म कुत्सा भएँ तिमी सुरम्य फर्काइदेऊ
म कायल भैसकेँ तिमी न्याय दिलाइदेऊ

म भक्त हुँ तिम्रो मेरो भगवन्त
मलाई पन्च पिलाइदेऊ
चार दिशा अष्ट कुना
सक्छौ मलाई सप्त दिलाइदेऊ
कोटीकोटी ढोग्छु प्रभु चरण मिलाइदेऊ

यति त भन्नै पर्छ मैले
धरमा धर्म छोड्न हुन्न मैले
मनमा मन्दिर जोड्न पर्छ मैले
अब तिमी आफैँ बोलिदेऊ मेरो भगवान्
म ढुङ्गाले ढुङ्गा पुज्न पर्छ मैले

धेरै पढियो वेद पुराण धर्म बुझेको छु
चिसा जमिन खाली पाऊ मन्दिर पुगेको छु
भगवान् आफ्नै मनमा विराजमान रहेछन्
थुक्क म पापीले पत्थर पुजेको छु ।

पञ्चकन्या, नुवाकोट