मैले सपना देखेँ
उसले मलाई देखी
देखादेख भयो हाम्रो
तर आँखा बन्द थिए रे
साक्षी रहिछ विपना

मनमा जे थियो
मुखमा त्यो थिएन
त्यहाँ सपना थिइन्
आँखा खुलै थिए रे
दर्शक रहिछ विपना

सपनासँग रङ्गिने म
मसँग नाङ्गिने ऊ
हाम्रो फिस्टोले
बाँस पुतुक्क नुगाएको कहाँ होला?
जिज्ञासा राख्छे विपना

सपना र मेरो रोमान्स
आउँदैन रे पर्दामा
गोपनीयताको शपथ
नचिप्लियोस् कुरकुरे बैंसमा जस्तो
कामना गर्छे विपना

अनि
सपना र मेरो सम्बन्ध
अन्त हो कि अनन्त
जीवन हो कि मृत्यु
अनुसन्धानको रोटी बेल्न
ध्यानस्त छे विपना ।

अर्घाखाँची