एउटा छोरीलाई काखी च्यापेर
अर्को छोरीको घाँटी ङ्याक्न
कसरी सक्छ एउटा मान्छे ?

माया गरे जस्तो गरेर
काखमा राखेर कोखमा छुरा घोप्न
कसरी सक्छ एउटा मान्छे ?

सात जुनी सँगै काट्ने
वाचा कसम खाएर
वरमाला पहिराएको गलामा
बगरेले खसी रेटेजस्तै
धारिलो हतियार चलाउन
कसरी सक्छ एउटा मान्छे ?

आफैंले मायाले सुमसुमाएका
प्रियतमाका शरीरका अङ्ग प्रत्यङ्ग
मूलाको चाना जस्तै
बिना अचानो टुक्रा टुक्रा पार्न
कसरी सक्छ एउटा मान्छे ?

अमृत समान आमाको दुतधारा खोसेर
चुल्होमा कृतिम दूध बसालेर
शयन कक्षको रगत सफा गर्न
कसरी सक्छ एउटा मान्छे ?

दुधे बालकलाई साक्षी राखेर
उसैको भगवानलाई पोका पोका पारेर
बोरामा कस्दै थान्को लगाउन
कसरी सक्छ एउटा मान्छे ?

आमा भनेर बोलाउन नसक्ने
तर आमा खोज्दै यताउता
आँखा डुलाउने अबोध बालकलाई
एउटा हातले बोक्दै अर्को हातले
उसकै आमाको मृत शरीर घिसार्न
कसरी सक्छ एउटा मान्छे ?

छिमेकीको आँखा छल्दै
चोर बिरालोको चाल रच्दै
रात रातभर सुत्न नदिएर
लुसुक्क कार सिटमा छोरी बाँधेर
डिकी भरी उसकै आमाको
टुक्राटुक्रा शरीर बोक्दै
फाल्ने ठाउँ खोज्दै हिंड्न
कसरी सक्छ एउटा मान्छे ?

आफ्नै शयन कक्षलाई चिहान बनाएर
रगतको आहालमा पौडी खेल्दै
आमाको हात समातेर
ताते ताते गर्दै हिंड्ने
छोरीलाई टुहुरो बनाउन
कसरी सक्छ एउटा मान्छे ?

दुनियाँ खोजीमा जुट्यो
तर जसले खोज्नु पर्थ्यो
ऊ आफैँ लाशको सिरानी हालेर
मस्त निदाएर बस्यो
सामाजिक सञ्जालमा अन्तर्वार्ता दिँदै
झूटको पर्दा हाल्न
कसरी सक्छ एउटा मान्छे ?

दुनियाँलाई ढाँटेर छलेर
निर्दोष भएको नौटंकी गरेर
शंका गर्ने जति सबैलाई
नाबालक छोरी अघि तेर्साएर
आफ्नै वासस्थानलाई बधशाला बनाउन
कसरी सक्छ एउटा मान्छे ?

टोरोन्टो, क्यानाडा