विराटनगर
मेरो प्यारो विराटनगर !

घामले चुम्बन गर्ने
तिम्रा घरहरूका छानाहरू
एउटा तीतो कथाको
मौन साक्षी बनेर
क्षितिजतिर हेर्दै पर्खिरहेका छन्

ए विराटनगर,
तिम्रा पर्खालहरू
कुनै समय
हाँसोले प्रतिध्वनित थिए
अब तिनै पर्खालहरू
सम्झनाहरूमा डुबेर
एकान्तमा उङ्दै छन्

ए विराटनगर
ईंट, सिमेन्ट र पिल्लरमा दरिएका
तिम्रा ती बलिया भवनहरू
अनि, काईले खाएर पनि
रंगीन रोगनको अवशेषमा रमाएका
तिम्रा ती हावादार वरण्डाहरू
घर अगाडिका तिम्रा ती
सेता टक्कर र गुलाबी डेलिया
र उनीहरूलाई रेखदेख गर्ने
बुढा खस्रा हातहरू
जवान औंलाहरूको स्पर्शका लागि
लामो समयदेखि लालायित छन्

ए विराटनगर !
ती तिम्रा घरमा बस्ने
वृद्ध आत्माहरू
जसका धमिला आँखाहरू
बितेका दिनका कथाहरूमा हराएका छन्

रमाइलो पुनर्मिलनको आसै आसमा
तीनतले भवनका सिंढी चढ्दा र ओर्लंदा
उनीहरूको जोर्नी दुखेको छ
सास फुलेको छ
मन डराएको छ

ए विराटनगर
शहरको मुटुका धड्कन
तिम्रा आशावादी युवाहरू
तिमीबाट टाढाको यात्रामा लागेका छन्

उनीहरूले
तिम्रा ती पुराना प्यारा सडकहरूसम्म सुनिने
सडकछेउ आँगन आँगनमा गुन्जिने
युवा हाँसो छोडेर गएका छन्

उनीहरूको राहदानीमा
अमेरिका, अष्ट्रेलिया, युरोप र जापानका
टिकटहरू अल्झिएका छन्

उनीहरूका सपनामा
समुद्रपारिका देश बल्झिएका छन्

ए विराटनगर
तिम्रो त्यो विस्तिर्ण छातीमा
दशैंमा चङ्गा समात्ने
र, तिहारमा मैनबत्ती बाल्ने
बालबालिकाको दौड छैन

चाडपर्वमा बजार र मन्दिरमा
युवाहरूको भींड छैन

अहिले त
प्रौढ श्वासहरू
झ्यालको छेउमा बसेर
ढोकाको ह्याण्डिल घुमेको सुन्न
चुईं बज्दै ढोका खुलेको हेर्न
दिनरात गनेर बाँचेका छन्

ए विराटनगर !
निराशा र हारका धागोहरूले बुनेका
तिम्रा बाँकी युवाहरूको हृदयमा पनि
तातो खरानीभित्र
भुतभुते आगो छोपिएको छ

विदेशी समुद्री किनारमा खिचिएका
फेसबुकका चन्चले फोटोहरूजस्तै
स्वप्निल काल्पनिक समृद्धिको
उत्ताउलो सपना रोपिएको छ

ए विराटनगर
त्यसैले त
बजारमा चलेको फेसनजस्तै
तिम्रा युवाहरुले आफ्ना आशाहरू
सुटकेसहरूमा प्याक गर्छन्
अनि
तिम्रा अनियोजित सडकहरू
अव्यवस्थित गल्लीहरू
र तिम्रो सम्झनामा टाँसिएको धुलो टकटक्याउँदै
ठूलाठूला जहाजमा चढेर भुईं छोडछन्

ए विराटनगर
कुनै समय
जीवनको चहलपहलमा डुब्ने तिमी
अहिले
आफ्नै शोक बुनिरहेका छौ
झ्याउँकिरीको एकोहोरो विरही पुकारझैं
आफ्नै सन्नाटालाई सुनिरहेको छौ

तर पनि, ए विराटनगर
मलाई आशा छ
सायद कुनै दिन
युवाहरुको पलायन उल्टो हुनेछ
र तिम्रा घर आँगन
फेरि एक पटक हाँसोले गुञ्जने छन्
मलाई थाहा छ,
मेरो विराटनगर,
तिमी आफ्ना युवाहरूको पुनरागमनमा
अझै पनि आश बाँधेर जीवित छौ
त्यसैले त,
तिमी तिम्रा रित्ता छतहरूमा
घामलाई चुपचाप अस्ताउन दिँदैछौ

तिम्रा खाली चोकहरूमा
लामा एक्ला छायाहरूलाई
यताउता टहल्न दिँदैछौ

तिम्रा आँगनका कुनाकानीमा
चमेली र गुलाबहरू फुल्न दिँदैछौ
घर अगाडि गेट नजिक
सिरीष र बोगेनभिलियालाई झुल्न दिंदैछौ

ए विराटनगर,
मलाई विश्वास छ
तिमी कालजयी छौ,
र पनि
तिम्रा सन्तान नफर्किउन्जेल
तिमी आफ्नो चर्केको छातीमा
अलिकति प्राणवायु चल्न दिँदैछौ ।

– केन्टकी, अमेरिका