मेरो पहिचानसँगै भ्रूणहत्या गरिने समाजमा
बा-आमाको रहरले जन्मिएकी छोरी म
आज आफ्नै अस्तित्वमाथि प्रश्न गर्दैछु
यदि म छोरा भएको भए यहाँ ?
उमेरसँगै ढाकिएका मेरा शरीरका प्रत्येक भागहरू
मेरो रक्षा कवच र ती आँखामा पर्दा मानेर
च्याती त्यो कवच, त्यहीँ सलको फासी लगायो घाटीमा,
यदि म छोरा भएको भए यहाँ ?
पूजापाठ र मन्दिर मेरो सधैंको दैनिकी
तर पूजारीको सोच नीच र नजर पापी
त्यो रातो अबिर देख्दा बगेको तातो रगत सम्झन्छु तिघ्रामा
यदि म छोरा भएको भए यहाँ ?
दृष्टिविहीन म त्यो कुनजर भने सजिलै देख्थेँ
श्रवणशक्ति कमजोर रहँदा पनि ढुकढुकी ठूलै सुन्थेँ
खै कुन सङ्केतले बयान गरुँ त्यो असहनीय पीडा
यदि म छोरा भएको भए यहाँ ?
यात्रा चार कुनामा सीमित रहोस् वा शिखरको होस्
सोच र विचार दबियोस् वा खुलस्त प्रस्तुत होस्
म तुच्छ, म कमजोर घर अनि कर्मथलो दुवैमा
यदि म छोरा भएको भए यहाँ ?
नीला डाम र घरेलु हिंसाले मर्माहित शरीर
विवाहको नाममा छूट गरिएको जबरजस्ती करणी
मेरो आवाज थुनेर थप्दै थियो ऊ झन् यातना त्यसमा
यदि म छोरा भएको भए यहाँ ?
दिनको उज्यालो रोज्छु म, ऊ मौका बाँकी राख्दैन कुनै
ती हस्तहरू नाच्न आतुर रहन्छन् साँझ नपर्दै
मेरो रुप जुनै होस् छोरी,दिदी,बहिनी,भाउजू,आमा
यदि म छोरा भएको भए यहाँ ?
म जन्मजात नै महान् कहलिन्थे समाजमा
स्वतन्त्र मेरा खराब विचार, नजर र व्यवहार
समर्थक प्रत्येक मेरा हरेक कदममा
यदि म छोरा भएको भए यहाँ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।