साँझापख डाँडापारि क्षितिजमा पुगेको बूढो घाम
बूढो घामको मधुरो छायाँमा
सुस्ताएर परदेश गएको छोरा फर्कने दिनलाई
आँगन छेउको भत्कन लागेको पर्खालमा
अढेस लागेर बसिरहनु भएको
बूढो बा-
पीडा लुकाएर नक्कली खुशीले सजिएको अनुहार
बोकेर छोरोसँग
मोबाइलको फिल्टर क्यामेराबाट
मुजा परेको गालाको स्वरुप फेरेर
भिडियो कलमा वेदना पोख्दै बोल्दै गरेको
बूढी आमासँगको वार्तालाप
“बाबू तिमी ठीक छौ” ?
साझा गरेको बा-आमाको शब्दहरू
मिठास छन्
मुलायम छन्
हृदय विदारक छन्
ठीक नभए पनि ठीक छन्
बोल्दा-बोल्दै
झूट बोल्न नसिकेका आँखाले
चुपचाप रित्तो गाउँको कथा बोल्दै छन्
°°°°°
मनको पोखरीमा लुकेको भावलाई
फेसबुक वालमा पोख्छन्
जनम-जनम सँगै जिउने जीवन संगिनी
अतृप्त यौवनको मीठो रस
लुकाउन खोजेका गोप्य कुराहरूलाई
नियतिले छर्लङ्ग पारी दिन्छ
थुनेर, छेकेर, रोक्न नसक्ने चाहनासँगै
भत्किएको छ
विश्वास र भरोसाका पहाडहरू
छिनेको छ अग्निसाक्षी राखेर गाँसेको
लगनगाँठो-
बिचल्ली बिछोडको भुमरीमा
आँशुको लहर अँगालेर हुर्कंदै गरेको
भविष्यको चिराग
भत्किएको घरका अटाली र अँगेनाले
चिच्याएर पुकार्दै छ, रित्तो गाउँको कथा
°°°°°°°
मेटिएर जादैँछ
निशान गाउँ-बेंसी गर्ने गोरेटोको
अभागी वनपाखाको नशा नशामा बग्ने
खहरे र छहरे
भवितव्य दुर्दशाको मार खेपेर मौन छन्
बग्न नपाएर
ढाँट्न नसक्ने सत्यहरू-
ढलिसकेको छ
भञ्ज्याङ डाँडाको माने
सन्नाटा छाएको छ
बटौलीको हटिया मेला बजार
-कमजोरीमा शक्तिशाली झूटको गर्दै व्यापार
फस्टाएर फस्टेकाहरू
मुकाम हुँदै
बसाइँ सरेका छन् राजधानी
निम्छरो बाटोमुनि फुल्दै गरेको
भुईंफूलहरू
आँशुलाई अँगालोमा कसेर
निको दिनको पर्खाइमा
देशपारि पुगेका आफ्नाहरूको हेर्दै बाटो
कुरिरहेका छन्
आफू जत्तिकै पुरानो घरको मझेरीमा
मौन छन्
मौनता भङ्ग नगरेर
मनमनै वाचन गर्दैछन्
रित्तो गाउँको व्यथा ।
पाँचखाल-११, काभ्रेपलान्चोक
हाल- लिमासोल, साइप्रस
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।