मानिसको होस् कि जीवजन्तुको
जलचरको होस् कि बोटबिरूवाको
सबैको आवश्यकतामा दर्ज भएको छु
सबैको उपयोगमा रमेर हाँसेको छु
र त बिना शर्त सबैसँग
मितेरी गाँसेको छु
म चञ्चल छु
मूल, हिउँ र वर्षात्को
उद्गम बिन्दुबाट
बहन्छु खोल्छी, खोला र नदी घुम्दै
बहन्छु उचाइबाट ओराली हुँदै
बहन्छु निरन्तर
आफ्नै आश्रयस्थल समुद्रतिर
म कसैको देन होइन
मूल, हिउँ र वर्षात्को रूपमा
नदीको निस्सा हुँ
जीवन्त इतिहास साक्षी छ
खोजेर हेरे हुन्छ
ब्रह्माण्डको एक हिस्सा हुँ
आफ्नो आवश्यकता
पूर्णता र समृद्धिको लागि
जङ्गल मास्छन् मानिसहरू
दोहन गर्छन् प्रकृतिको
पहाड चलाउँछन्
प्रदूषण बढाउँछन्
प्रकृतिलाई नै कृत्रिम बनाउँछन्
आफ्नो कुकर्म सम्झदैन मानिस
भन्छ, मूल सुकेर गयो
पानीको हाहाकार भयो
पहिरोले बस्ती उडायो, घर बगायो
गाउँको नाम निशान हरायो
नदीले खेतबारी बगायो, बस्ती डुबायो
अभागीको उठिबास बनायो
म त नदी हुँ
जीवजन्तुको जीवन हुँ
बाढी पहिरोको कारण
आफैँलाई सोध
अनावृष्टि अतिवृष्टिको कारण खोज
म प्रकृति हुँ, प्रकृतिमा नै छोड
स्वार्थका लागि नगर अतिक्रमण
म तिम्रो समीपमा गएको होइन
तिमी मेरो नजिक आएका हौ
मेरा कारणले विनास गरेको होइन
मैले कसैलाई तेरो मेरो भनेको छैन
अतः रूख रोप
उजाडिएका पहाड छोप
हरियाली बढाऊ
भावि पुस्ता पनि बाँच्न देऊ
दोहन नगर प्रकृतिको
संरक्षण गर साझा सम्पत्तिको
बस्नु नपरोस् कोही विपत्तिमा
रमाउन पाऊन् सबै विशुद्ध प्रकृतिमा
म त सजीवको सपना हो
आधारभूत आवश्यकता पूरा गर्ने
मेरो पवित्र चाहना हो ।
सानोठिमी, भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।