स्वदेशबाट खबर आयो स्वास्नी पोइल गई रे !
उसको माथिङल रिङ्गियो तर विश्वास गरेन
हो, होइनको भुमरीमा जकडियो
अतितका यादहरू सकी नसकी मानस्पटलमा ल्याउने प्रयास गर्यो
भावनात्मक सम्बन्ध थियो, स्वास्नीसँग उसको
प्रेमको गीत पनि गाएकै थियो उसले
सुख पनि दिएकै थियो उसले
तर
तर स्वदेशबाट खबर आयो‑ स्वास्नी पोइल गई रे !
आज किस्ने त्यसै त्यसै रन्थनिएको थियो
मनमा आवेगहरू बोकेर छ्ट्पटिएको थियो
अनि अतितका यादहरूमा जकडिएको थियो
स्वास्नीसँगका वाचाहरू बिर्सिएको थियो उसले
धेरै सम्पत्ति कमाउने चाहना मरेकै रहेनछ
पीआर बनाउने चाहना मनका अन्तरकुन्तरमा
जीवितै रहेछन्
सुखसयल भोग गर्ने मृगतृष्णा मनमा आइरहँदा
रहेछन्
अनि लामो समय बितेर गएको पनि सोचिरहँदो रहेछ
समय यस्तै यस्तै थियो,
हिउँ परेर कठ्याङग्रिएको मौसम पनि तात्तिएको थियो
सधैँ रक्सी पिएर तताउनु पर्ने शरीर आज त्यसै त्यसै तात्तिएको थियो
सात समुद्रपारि अँध्यारो छिँडीमा भाँडा माझेको लामो समय भएको थियो
देश फर्किने चाहना मनमा रत्तिभर थिएन उसको
देश आगोको ज्वालामा जलिरहेको खबर पनि पाएको थियो उसले
जनयुद्धको चपेटामा देश बन्धक थियो
नेपाली चेलीहरू बिधवा भएको पनि सुनेको थियो उसले
आमाको सहारा पनि शहीद भएको सुनेको थियो उसले
आमाको मुटु टुक्राटुक्रा भएको समाचार पनि पढेको थियो उसले
ऊ दोधारमा अल्झिएको थियो

देश फर्कने अवस्था देखेकै थिएन उसले
बिरानो देशमा बस्ने चाहना पूरा भएकै थिएन उसको
जे भए नि
बिहान सबेरै अँध्यारो छिँडीमा त जानु छ
स्वास्नी पोइल गए पनि अँध्यारो छिँडीमा त जानु छ
सारा कुराहरू बिर्सेर अँध्यारो छिँडीमा त जानु छ
यसरी नै,
कृस्नेको जिन्दगी बिरानो देश्को अँध्यारो छिँडीमा नै अल्झिएको छ ।