जुठेल्नोमा लडेर
आमाको खुट्टा मर्किएपछि
भुईँचम्पा खोज्न गएकी कविता
आफैँ लडेर हात मर्काइन्
ए भुईँचम्पा !
तिमी ओखती हौ कि, खती हौ ?
कविता, अब तिमी
होमवर्क लेख्न सक्दिनौ
भाँडा माझ्न सक्दिनौ
लुगा धुन सक्दिनौ
आमाले
खुट्टा टेक्न सक्दिनन्
भारी बोक्न सक्दिनन्
अझ भनौँ,
आमाले शौच गर्न सक्दिनन्
विदेश गएको तिम्रो दाइलाई
यो खबर
कसरी सुनाउँछ्यौ ?
यतिबेला त,
छिमेकीको रित्तो घरमा
कोही टुप्लुक्क आए पनि
भगवानै आएझैँ हुन्थ्यो
के गर्छ्यौ कविता,
यी शून्य घरहरूको बस्तीमा
तिमीजस्ता थुप्रै कविताहरू छोडेर
खाकान मिलाउँदै
सपनाको ढाकर अगाडि लागेपछि
ठेस लाग्दै पनि
टोक्माहरूले पछ्याउनै पर्यो
रहर त होला नि
कविता जन्माउने आमाहरूलाई पनि
शहरको घुम्तीहरूमा सजाइएको
पिपलको बोटजस्तै
आफ्ना सन्तानलाई छहारी दिन
तर, बचेराहरूले गुँड छोडेर टाढा गएपछि
परेवाले जस्तै चारो खुवाउने आमाहरू
हवाईजहाजको आवाजमा
छोराको याद गर्दै
बेसन्तुक खाना खाइरहेका छन्
रहर त होला नि
कविता तिमीलाई पनि
सुनाखरीजस्तै कसैको सहारामा
झपक्क फुलेर बस्ने
शायद,
कयौँ वसन्तहरूले
तिम्रो लगन बोकेर ल्यायो
भाग्यको नियतिले
तिम्रो शिरमा बस्नै दिएन
शायद,
कयौँ हिउँदहरूले
तिम्रो खुशी बोकेर ल्यायो
चैतको हुरीले
तिम्रो भागमा खस्नै दिएन
आमाको खुशी खोस्ने हवाईजहाजहरू
दिनदिनै नउडेको भए
तिम्रो खुशी खोस्ने चैते हुरी
छिनछिनै नचलेको भए
कविता
तिमी पनि यहाँ हुन्न थियौ
जब खुशीहरू, अपहरण हुन्छन्
जब आशाहरू, कोपिलै चुँडिन्छन्
तब चट्टान फुटाएर जन्मन्छन् कविताहरू
कविता हुन धेरै साहस गर्नुपर्छ
ठूलो आँट गर्नुपर्छ
र त, तिमी यहाँ छौ
कविता
तिमी दुःखी नबन्नु
तिमी त यो गाउँको मणि हौ
तिमीले गाउँ छोड्यौ भने
यो ठाउँको सह जान्छ
तिमी खुशी हुनु
म कवि भएर
तिमीलाई यति खुशी बनाउँछु
कि तिम्रो खुशीले
एउटा ओस्कार जितोस्
याने कि,
हरेक चोटी लडेर कुँजे बनेकी
गाउँको कविताले पनि
ओस्कार जित्नुपर्छ
संसार जित्नुपर्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।