अविरल मुसलधारे बर्खे झरी
झर्यो लेते-पहिरो तॅछाडमछाड गरी
धमिलो नदीको उन्मत्त बेगसँगै
प्रकृतिको असंवेद्य क्रीडामा
बगेनन् केवल गाडी र यात्रुहरू
बगे चित्कार ओकल्दै निरीह आत्माहरू
डुबे जीवनका मीठा सपनाहरू

यात्रारत हॅुदा हुन्-
कोही अक्षरको खोजीमा
कोही ओखतीमुलोको खोजीमा
कोही इलमको खोजीमा
कोही सम्बन्धको खोजीमा
कोही संभावनाको खोजीमा
कोही धर्मदर्शन यात्रामा
बढेका हॅुदा हुन् पाइलाहरू-
बोकेर भविष्यका सपना
कोर्दै योजनाका नक्सा
हराउँदै सुख र खुशीको परिकल्पनामा
तर विडम्बना !
तिनै पाइलाको डोब नछोडी
बगे निस्सासिॅदै बाढीसॅगै
भए बेपत्ता गाडीसॅगै
बाँच्नेहरूको लागि केवल आँशु साँचेर
वेदनाको गाँठो कसेर

बुझिनसक्नु छ कालयोग पनि
एकछिन ढिलो वा चाँडो पुगेको भए
समय घर्केर गाडी नै छुटेको भए
बाटोमै गाडीले धोका दिएको भए
सपनाले अपसकुन संकेत गरेको भए
अकाट्य कारण जन्मेको भए
शायद,
लतारिँदै पहिरोसँग
आत्मसमर्पण गर्दै मैमत्त बाढीसँग
गर्नु पर्थेन होला अनिश्चयको यात्रा
हुनु पर्थेन होला अकालमा कालको प्रिय

अनिच्छित जलसमाधिमा
हेलिनुपर्‍यो जबरजस्ती निरीहजनहरू
गाडी र ती देह त बगायो बगायो
बाआमाको बुढेशकालको टेको बगायो
पतिपत्नीको जीवनको सहारा बगायो
छोराछोरीको साहस र भरोसा बगायो
परेको बेला काँध फेर्ने दाजुभाइ बगायो
दिदीबहिनीको पीर बिसाउने माइती बगायो
साथीभाइको मन मिल्ने दौँतरी बगायो
गाउँघरकाले मर्दापर्दाको छिमेकी गुमायो
देशले एउटा कर्मशिल नागरिक गुमायो

अब फेरि एकपटक सोध्नुपर्नेछ-
विकासका मादक नारा दिएर
विनाशको वितण्डता मच्चाउनेहरूलाई
अबुझहरूको जयध्वनिमा लट्ठिएर
प्रकृतिको चिरहरणमा प्रफुल्लित हुनेहरूलाई
डोजरको चर्को ध्वनि र प्रतिध्वनिको मज्जा लुटेर
मान्छेको चित्कार दुत्कार्नेहरूलाई
बाटोको नाउँमा मान्छेको चिहान खन्नेहरूलाई
प्राकृतिक प्रकोपलाई आमन्त्रण गरेर
मान्छेका सपना तुहाउनेहरूलाई
विकासको दिग्भ्रम छरेर
धरामा असन्तुलन मच्चाउनेहरूलाई
के वातावरण-मैत्री विकास भनेको यही हो ?