हिजो हतारमा थियो ऊ पशुपतिमा, दर्शन र पूजा गर्नलाई
आज निःशब्द पालो कुरी बसेको छ आर्यघाटमा, चितामा जल्नलाई
कात्रो खोल या बागमतीमा नुहाइदेऊ या चितामा सुताइदेऊ, गुनासो गर्दैन ऊ कसैलाई
आज हतार छ आर्यघाटमा, जल्नेलाई भन्दा जलाउनेलाई
केही दिन पहिले साइत हेर्दै थियो, चारधाम प्रस्थानको
इच्छा हुँदो हो मृत्युपश्चात्, मोक्ष प्राप्तिको
निश्चिन्त चिरनिद्रामा छ ऊ आज, सम्झिने छैन अब धामहरूलाई
आज हतार छ घाट पुर्याउन, आफन्तजन र मलामीहरूलाई
हिजो मुटु दुख्दा निकै हतार थियो उसलाई, अस्पताल पुग्नलाई
कुनै हतार गर्दैन ऊ आज, अस्पतालबाट निस्कनलाई
केही मतलब छैन आज, घर वा सोझै लैजाऊ घाट उसलाई
बरु अलि द्विविधा छ, परिवार र आफन्तजनहरूलाई
हिजोसम्म पलपल हतार गर्थ्यो उसले, काम सक्नलाई
कुनै हतार गर्दैन ऊ आज, अरुको काँध चढ्नलाई
उसलाई केही मतलब छैन, को को आए आएनन् मलामी जानलाई
बाँचुञ्जेल वैरी भएका आफन्त समेत, आएका छन् आज काँध थाप्नलाई
हिजोसम्म कसले के भन्लान्, यही पीर थियो उसलाई
आज शून्यतामा मिलाएको छ, त्यही पीर मान्ने आत्मालाई
उसको मृत्यु कसकसलाई भारी हुन्छ, थाहा हुने छैन अब उसलाई
घाट त एउटै रहेछ लैजाने; राजा, रङ्क या महात्मालाई
आसै मारेर पनि त खै कसरी, सकिँदो हो र जिउनलाई
दुख बेचेर खुशी किन्ने रहर, किन नहुँदो हो र कसैलाई
अरुको खुशीलाई लत्याएर, को रमाउँदो हो जिउनलाई
फाट्नेछ आत्मा पश्चातापले एक दिन, सक्ने छैन सिउनलाई
जति व्यस्त र हतार भए पनि, एकदिन त मान्छे मर्दछ
हरेश नखाई पाइला चाल्नेलाई मात्र, शिखर चुम्ने साहस मिल्दछ
अवश्यंभावी छ जन्मपछि मरन, कुकर्म गरी किन हाँस्दछ ?
जगतको भलो गर्ने मान्छे, मृत्युपछि पनि बाँच्दछ ।
हालः काठमाडौँ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला