हे मनुवाहरू हो !
हे बटुवाहरू हो !
किन तिरस्कृत नजरले हेर्छौ मतिर
र, सोच्छौ-
किन यी नाखुस् बुढिया
यो चिसो बर्दलीमा
कालो धुवाँ र पिरो धुलोको पर्वाह नगरी
घोत्लिरहेकी होलिन्
मलिन अनुहार लिएर
के सोध्छौ तिमी मलाई म को हुँ?
बुझ्नसक्छौ कि
म हुँ पिपलको ठुटो-
भत्किएको चौतारीमा मक्किएर
काल कुर्दै गरेको
अर्थात् ! पात, हाँगा र जरा
पहेँलिएका, धोद्रिएका, मक्किएका
म बुझ्दछु
अँगालोमा जोल्ठिएर हिँडेका तल सडकमा
तिमेरू परेवा- परेवीहरू के सोच्दछौ ?
म जान्दछु,
सपना बुनेर भिसाको दिन गनेर बसेका-
कसिला पाखुरा गरेका
तिमी पाहुनाहरू के ठान्दछौ ?
म ठम्म्याउँछु
बिहानदेखि बेलुकासम्म आँ गर्दै
आकाशतिर हेर्दै
उपार्जन नामको
महको लत्को थाप्न तम्तयार वयस्कहरू
के सोच्दछौ मलाई छड्के नजरले हेर्दै
तर तिमीहरू कहिल्यै बुझ्ने छैनौ
म भित्रका भक्कानाहरू
मेरो पटुकी भित्रका रेशाहरू
मेतो छातीभित्रका चोटहरू
र,
मेरा पैतालामुनिका चिराहरू
कहिलेकाहीँ सोच्छु,
यदि अरू कुनै पिपलका ठुटाहरू
जस्तै, तिमेर्की भूतपूर्व आमा
सक्नेथिइन् भने यही बाटो हिँड्न
पक्कै पनि बुझ्ने थिइन्-
के बोल्दैछन् मेरा थर्थराएका ओठहरू
के सन्देश दिँदैछन्
मेरा गाला र निधारका चाउरीहरू
कमसेकम् हिम्मत गरेर
बार्दलीतिर ठाडो मुण्टो लाउँदै
आँखीभौंलाई हत्केला ओढाउँदै
उनले सोध्ने थिइन् अवश्य-
“घर कता पर्यो आमा?”
जत्तिसुकै उमेरकी होऊन् उनी
म उनकी आमा हुन्थें
र एकछिन ढक्क छाती फुलाउने थिएँ ।
*** *** ***
सुन्छौ, अर्को कुरा पनि भन्छु म आज
मेरो अनुहारमा परेका चाउरीहरूसँग
शायद एक किसिमको गणित छ
अगणित, अनगिन्ति गणित
लाश मात्र छ भन्ने बुझ
मेरो यो बर्दलीमा
हंश त मेरो छोरोसँगै
शेयर मार्केटको बजार गएको छ
मेरो चित्त त मेरो नातिसँगै अफिस गएको छ
अनि मेरो आँखाका नानीहरू
मेरी नातिनीसँगै
उसको कलेज गएका छन्
ती कोही फर्किएका छैनन्
सकुनयुक्त यो गोधुली साँझमा
म अपशकुनयुक्त सडकका धरापहरू
मष्तिस्कमा खेलाइरहेकी छु
तसर्थ, मसँग मेरा कुनै इन्द्रियहरू छैनन्
मसँग कुनै सपना देख्ने टुकीहरू छैनन्
न त छन् मसँग कसैलाई केही भन्ने साहस
छ त केवल मसँग चिन्ता छ
ताप र राप छ एकतमासको
र भनूँ, आक्रोश पनि छ
जब जब ती आक्रोशहरू
प्रस्फुटित हुने जमर्को गर्छन्
उमेर पाकेसँगै सिर्जिएको एउटा ग्रन्थी छ
उसले थुम्थुम्याउँछ मलाई
र, बारम्बार दोहोर्याउँछ-
हे बुढिया !
“खोलो फिरेन भन्दै-
टाकुराको गाउँले रुनु किन?
शिरीखुरी भयो भन्दै-
माकुराको माउले रुनु किन?
*** *** ***
कौशलटार, भक्तपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।