म एउटा बाबु–
सिर्जना गर्नु छ मैले
सपनाका सुन्दर नयाँ–नयाँ संसार
निर्माण गर्नु छ नयाँ गोरेटा र घोडेटा
तयार पार्नु छ यात्राको लागि
र, पुर्‍याउनु छ सन्ततिलाई
डोर्‍याउँदै सपनाको त्यही संसारसम्म

म एउटा छोरा–
बोक्नु छ मैले
बूढा बाआमाले जीवनभर
देखेका अधुरा र देखाएका अमूर्त सपनाको भारी
हिँड्नु छ
उनीहरूले सिर्जना गरेको
सपनाको रंगीन तर खण्डहर संसारतर्फ
कतै मर्मत गर्दै पुराना र
कतै कोर्दै नयाँ गोरेटाहरू

म एउटा दाइ–
छहारी दिन भाइबहिनीलाई
बन्नु छ मैले बटवृक्ष
पार गराउनु छ उनीहरूलाई
जीवन यात्राका कयौं गल्छेडा र कुइनेटाहरू
र, बिछ्याएर भए पनि
बाटोमा आफ्ना आकांक्षाका शव
पुर्‍याउनु छ उनीहरूलाई
बाआमाले कोरेको र
आफूले रङ भरेको स्वप्न संसारमा

म एउटा पति–
पूरा गर्नु छ मैले सयौं बाचा
र, सुकाउनु छ आँखाको डिल भित्रै
आफ्नी प्रियाका आँशु
सुमसुम्याइरहनु छ उनका भावना
र, जोगाउनु छ उनको मुहारमा हमेसा हाँसो

म एउटा पुरुष–
राख्नु पर्छ मैले
चट्टान छातीभित्र नौनी मन
र, सहनु पर्छ सयौं आघात प्रतिघातहरू
तर,
जस्तै दुःखमा पनि
कहिल्यै प्रकट गर्न हुन्न मैले आफ्नो पीडा
कहाँ छ र कमजोर हुने र रूने अनुमति पुरुषलाई ?