एउटा देश छ
देशमा एउटा वर्तमान छ
देशमा एउटा निवर्तमान छ
देशमा एउटा भूत प्रतीक्ष्यमान छ
देशमा
एउटा अभिमान छ
अर्को विप्लवी फट्कारको प्रतीयमान छ
अझ अर्को उधारो मानको अनुमान छ
‘देशको मायाले’ अभीभूत
त्रिमदी त्रिभूतहरू
त्रासदीका आलाप गाउँछन्
बाँकी त्रिकोटी अभूतपूर्व अद्भूतहरू
आआफ्ना प्रभुपाद सुमसुम्याउँछन्
एउटा समृद्धिलाई भेट्ने इरादामा
बिचरी उषा र दिवा जीवित हुँदै
कुनै उन्नति भेट्टाउन नसकेपछि
भावुक हुँदै
कवितासँग भेटघाटको अभिलाषा राख्छ रे
अचेल, सपनीमा पनि कङ्गालको आँसु देखेर
आफै अश्रुपूरित हुँदै रुन्छ रे
अर्को ‘यिनीहरू ढले म उभिन्छु’को भाव लिएर
युक्तिको प्रतीक्षामा अधीर छ
भन्छ रे , ‘अब मलाई क्षमताको माया लाग्नै छाड्यो’
ज्वाला निभेपछि दुर्बल छ रे ऊ
अब साथमा नीति र अपेक्षा मात्र बाँकी छन् रे
कामनाको त उहिल्यै देहावसान भइसक्यो
सुनिन्छ
‘पश्चिमा भ्रामरीको भयानक भूतले
मलाई हसिना बनाइदियो’
अर्को अपक्व परिपक्व
भ्रामरीबाट अभिशप्त अचैतन्य चेतन तत्त्व
बरा
शान्ति भेटिएन तुष्टि मिलेन
सन्तुष्टिमा दृष्टि मिलेन
सुनिन्छ
‘आकांक्षा र कामना पनि सितिमिति मर्छन् त ?’
हृदयको हरेक स्पन्दन
मजबुर छ लक्ष्मीको प्रीतिमा
अझै पनि
दिलकी दिलरुबासँग भेट गराइदिन उत्सुक
अनित्य आरजु जीवन्त छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।