जीवनभर मलाई लागिरह्यो
मैले आफ्ना सपनाहरूलाई पछ्याउनु पर्छ
कल्पनाका सानासाना क्यानभासहरु जोडेर
ठूलो सपनाको एक लामो तूल ओच्छ्याउनु पर्छ

तर मेरा साना क्यानभासहरू
छरपस्ट भएर रहे
जोड्न सकिनँ मैले तिनलाई
न लामो तूल नै बनाउन सकेँ

एक रात मैले
अनिदो कचपल्टिएको अर्ध निन्द्राको सपनामा
आफैँलाई सोधेँ-
“मेरा सपनाहरू के हुन् ?

सपनामा
म मेरो मनको उपत्यकामा घुम्दै थिएँ
जहाँ मेरा सपनाहरू
वरिपरिका अग्ला पहाडजस्तै देखिएका थिए
अनिश्चितताको कुहिरोमा लुकेका
भिराला टाकुराजस्तै देखिएका थिए

यत्रतत्र,
शंकाका नदीहरू बग्दै थिए
र म ती नदी पार गर्ने सोचमा
डरले काँप्दै थिएँ

त्यस रात
निस्पट नीरवतामा
प्रकाशको सानो ज्योति खोज्दै म ब्युझिएँ
छामछाम छुमछुम गर्दै
म मेरा जेलिएका सपनाहरूको
सानाठूला डङ्गुरहरूबाट
अझै पनि गुज्रिंदै थिएँ

तब अकस्मात
अनावश्यक विचार
औ असन्तुलित तर्कको बोझमुनि
लामो समयसम्म दबिएको
मेरो साँचो सपना
अकस्मात उदायो

त्यस रात
म र मेरो मुख्य सपनाबीच
एक सुस्पष्ट साक्षातकार भयो

त्यसै रात
मेरो त्यो सपना समक्ष
मेरा जटिल विचारहरू
मेरो डर
मेरो आनन्द
र मेरा सबै भावनाहरूको क्षणभंगुरतालाई
मैले सहजै स्वीकार गरेँ

त्यस बेला
मैले बुझेँ-
मेरो सपना
कुनै गन्तव्य होइन रहेछ
घाँसको ठूलो बोझाजस्तो
बोक्नु पर्ने कर्तव्य होइन रहेछ

मेरो सपना त
भावनाहरूको बेढंगी आकारलाई
मेरो कल्पनाका रङहरूले रंगाउने
एउटा रमाइलो यात्रा मात्रै रहेछ

जीवनका दौडधूपबाट
अलि पर सुटुक्क भागेर
तिनै दौडधूपलाई नै हेर्दा देखिने
रहरलाग्दो रमिते जात्रा मात्रै रहेछ

अब म
मेरा छरपस्ट भावनाहरूलाई
क्रमबद्ध गर्न खोज्दिनँ
किनकि तिनीहरू नै त
मेरो कलाको महँगा सामग्री हुन्
जे जस्ता छन् ती
त्यही अवस्थामा नै
म तिनको मूल्य बढेको देख्छु

आज म
मेरो बोधलाई सार्वजनिक गर्दै
यो घोषणा गर्छु-
मभित्रको अराजकता नै
मेरो रचनात्मकताको स्रोत हो
मेरो अभिव्यक्तिको अजात शैली
बर्सिँदो आकासको क्रोध हो

मैले मेरो खोजको अभियानमा
गहिरो सान्त्वना पाएको छु
मैले मेरो जिज्ञासाको यात्रामा
शितल आश्वासन पाएको छु

त्यसैले,
अब धेरै बाँकी छैन
बस् अलिकति,
थोरै कल्पनाले
रंग्याउन मात्रै त बाँकी छ !
मेरो सपनाको सार्थकतालाई
अलिकतिले टुंग्याउन बाँकी छ

सायद
कलाकार हुनुको अर्थ:
चेतनाको अराजकतालाई अँगालेर
चल्तीको अर्थको विवेकलाई त्यागेर
त्यही अराजकताभित्र
अनुपम सुन्दरता खोज्दै
अलिकति अब मैले अलमलिनु छ

अब म आफ्नै बेहोसीबारे
कलमले आजीवन लेखिरहनेछु
मानसका सानाठूला क्यानभासहरूमा
यथार्थ भावना पोखिरहनेछु

तर मलाई
मेरा ती क्यानभासहरू जोडेर
लामो तूल बनाउने
इच्छा हुने छैन
मेरो स्वाभाविक भावनाको बदला
मलाई पुरस्कारहरुको
कुनै लोभले छुने छैन
त्यसपछि त
मेरो हरेक कल्पना
साकार भई बिउँझिने छ
निभ्न लागेको सानो मैनबत्तीलाई पछाडि छोड्दै
आकाशका जाज्वल्यमान सात सूर्यलाई
शिरमा बोकेर,
एउटा अजंगको हात्तीले जसरी
लामा ठूला पाइलाले भुईं ठोकेर
मेरो सपमा जागृत हुनेछ

अब उप्रान्त म
मेरो मनको उपत्यकाको
सुखा खडेरीलाई चिर्दै
काव्य कहानीका छेउटुप्पालाई
केलाउँदै चुँडदै
ओर्काउँदै फर्काउँदै
मेरा दर्शनका परिकारहरु पस्किरहनेछु

कल्पनाको हरियो फाँटको एक ढुंगोमा बसेर
जाँतोका दुई ठूला फब्ल्याँटाहरूले
सपनाका खस्रा दानालाई
पिसेर पकाइएका
नरम, मिठा गुलिया रोटी चपाउँदै
म आफ्नै अराजकतामा
आजीवन मुस्काइरहनेछु

हो, अब म
आफ्नै बेहोसीबारे
मानवीय अनिश्चयबारे
मानस तलाउको अस्थिरताबारे
भाग्यको अनिश्चितताबारे
कलमले आजीवन लेखिरहनेछु
मानसका सानाठूला क्यानभासहरूमा
कोमल हुन् वा कठोर
फिका हुन् वा गाढा
भावनाका रङहरू पोतिरहनेछु

तर मलाई
मेरा ती क्यानभासहरू जोडेर
लामो तूल बनाउने
इच्छा हुने छैन
बरु म
मेरो मौलिक अराजक कलाकारितामा
आजीवन मुस्काइरहनेछु
मुस्काइरहनेछु ।

 

 

केन्टकी, अमेरिका