हिउँको ताज पहिरी हाँस्छ अटल हिमाल
नेपालभित्र लावण्य भर्ने प्रकृति कृपाल
धुपी र सल्ला मुनाल, डाँफे हिमाली गहना
बरफबीच सौन्दर्य फुल्ने अद्भुत रचना
हिउँकै नदी हिउँलो ताल सेताम्मे चुचुरा
सर्दिलो वायु चट्टाने भूमि बर्फिला कन्दरा
झुल्किन्छ घाम मुसुक्क हाँसी हिमाल चुमेर
उषाले छरिन् रक्तिम लाली क्षितिज घुमेर
कुहिरो नाच्छ हिमालमाथि गगनै ढाकेर
डटेरै हानौं लक्ष्यको तीर चुचुरो ताकेर

चुम्छिन् जून गिरिको ओठ जुनेली रातमा
चम्किन्छ हिम बनेर चाँदी पर्वत माथमा
पर्वत पुत्री पार्वती खेल्छिन् हिमाल डुलेर
शिव नै रमे पार्वती भेट्दा कैलाशै भुलेर
विश्वको शिर सगरमाथा अनुप हिमाल
कदकी सानी आँखाकी नानी सुन्दरी नेपाल
यति र भालु,याक र चौंरी बासिन्दा हिमाली
हिउँमा श्रम फलाई बाँच्ने पौरखी नेपाली
चिनारी हाम्रो नगण्य हुन्थ्यो हिमाल नभए
स्वाधिन हामी हुन्थ्यौं र कहाँ ?नेपालै नरहे

उमङ्ग छर्छ हिमाली चाड हर्षिलो ल्होसार
संस्कृति मरे मुलुक बन्छ निश्चेष्ट निस्सार
टुब्नाको ताल त्यो स्याब्रु नाच हिमाली रिवाज
पिवाङ,लावा बाजाका धुन शेर्पाली आवाज
दोचा र बख्खु लगाई रम्ने शेर्पाको सभ्यता
अतिथिलाई देवता ठान्ने हिमाली शिष्टता
हिमाली हावा ओखती बुटी अमृत सागर
हिमाल श्रेष्ठ सगरमाथा चुम्दछ सगर
सर्वोच्च शैल पर्वत श्रेणी सम्पदा विश्वको
हिमका माला अतुल शान नेपाल देशको

चुचुरो टेकी आकाश छुने वीरको चाहना
आँटीकै पुग्छ शिखर चुम्ने सुनौलो सपना
सुसेली शान्ति सन्देश दिन्छ तेजस्वी हिमाल
हिमाल धारी सुन्दर सौम्य अखन्ड नेपाल
गिरीका श्रेणी अनार दाना लहर मिलेको
हिमाल रानी मुहार शुभ्र मणी झैं चम्केको
हिउँमै खेली हिमाल हेरी हुर्किएँ बढें म
नेपाली झन्डा काँधमा बोकी हिमाल चढें म
एकता गीत सुसेली गायो अजर हिमाल
हिमाल बोक्ने सौभाग्यशाली सुन्दर नेपाल ।