समृद्ध बन्छ
समुन्नत बन्छ
एकदिन पूर्ण विकसित बन्नेछ
यो मेरो देश
मैले अझै आशा मारेको छैन
अझै आशा मरेको छैन

देश बन्दै बन्दैन भन्छन्
र देश लुटिरहेछन् उनीहरू
नेता ठीक छैनन् भन्छन्
र आफैँ नेता बन्ने होडबाजीमा छन् उनीहरू
कर्मचारी भ्रष्ट छन् भन्छन्
र नीतिगत भ्रष्टाचार गरिरहेछन् उनीहरू
व्यापारी खराब छन् भन्छन्
र कमिशनमा आफैँ रमाइरहेछन् उनीहरू

हातले कहिल्यै उठाउँदैनन् यो देशको एकमुठी माटो
र विदेशीका दास बन्न तयार हुन्छन् उनीहरू
बाटोघाटो ठीक छैन भन्दै चिच्याउँछन्
र मनलाग्दी पाखाहरू भत्काउँदै हिँड्छन् उनीहरू

बिना योजना, बिना इञ्जिनियरिङ
उधिनेर माटोका ढिस्कोहरू अत्याधुनिक डोजरहरूले
अविछिन्न विकासका राप अलाप्छन्
विकासकै नाममा कयौँ विनाशका नयाँ नयाँ कथा लेखाउँछन्

यो भएन र त्यो भएन भन्दै सबैसबैलाई खराब देख्छन्
सबैसबैलाई नकारात्मक सोच्छन्
र चारैतिर निराशाका हल्ला फैलाउँछन् उनीहरू
तर
नमार्नु आशा कहिल्यै तिमी
नहुनु निराश कहिल्यै तिमी

जगाउनु छ हामीले
गहिरो निद्रामा सुतिरहेकाहरूलाई
भोलि बिहानै छर्नु छ उज्यालो प्रकाश
पूर्वको क्षितिजबाट
फुकेर क्रान्तिको बिगुल
ब्युँझाउनु पर्छ दुनियाँ

बालेर आशाको दीयो
झिलिमिली बनाउनु छ देश
हटाउनु छ निर्जन कालो अन्धकार
अझ सुन्दर हराभरा बनाउनु छ
यो धर्ती

बरु
आऊ सँगै खनौँ बारीका कान्लाहरू
र सम्याऊँ खेतका गह्राहरू
पन्छाएर अराली र निगालाका काँडाहरू
रोपौँ खरबारीमा खरसँगै दुधिला डालेघाँसहरू
र हरियाली बनाऔँ पाखाहरू

गरेर उपचार माटोको उन्नत बीउहरू रोपौँ
र उब्जाऔँ अन्नका अनमोल द्रव्यहरू
गरेर गोडमेल बारीका पाटाहरूमा
फलाऔं मोतीका दानाहरू

उमारौं खुर्सानीका बोटहरू करेसाबारीमा
रोपेर फलफूलका बिरुवाहरू बगैँचामा
लगाऔँ पाखाभरि स्याउ र सुन्तलाहरू
लिची, आँप, केरा र भुइँकटहरहरू
बुझेर महत्त्व वनका बेल, तरुल, गिठ्ठा र भ्याकुरहरूका
खोजेर अस्तित्व जंगलका अनमोल जडीबुटी र झारपातहरूका

हिमालमा हिउँ जोगाउन सकौँ
डाँडैभरि गुराँसहरू फुलाउन सकौँ
भाँडैभरि अन्नहरू उब्जाउन सकौँ
तराईका फाँटहरूमा धान झुलाउन सकौँ
हिमालका हिउँहरूमा मन भुलाउन सकौँ
पर्यटकलाई रिझाएर धन कमाउन सकौँ

वनभरि सयौँथरि फूल फुलाउन सकौँ
मान्छेका मनभरि शाहस जगाउन सकौँ
नदीलाई सिंचाईका नहर बनाऔँ
बगरलाई नयाँ नयाँ शहर बनाऔँ

मान्छेका तन, मनबाट निराशा हटाऔँ
मान्छेका दिमाग र हृदयमा आशा जगाऔँ
आशाभित्र गहिरो सपना लुकेको हुन्छ
सपनाभित्र समृद्धि छिपेको हुन्छ

त्यसैले
अझै आशा मरेको छैन
मैले अझै आशा मारेको छैन
आऊ तिमी र म सँगै मिलेर समृद्ध बनाऔँ
यो स्वर्गझैँ सुन्दर र शान्त देश ।

(कवि सिर्जनशील साहित्यिक समाज(सिसास) रुपन्देहीका पूर्व अध्यक्ष तथा सल्लाहकार हुनुहुन्छ ।)