चम्चा साथमा भएपछि
आफू अगाडिका परिकारहरू
मिलाई-मिलाई, ओल्टाई-पल्टाई
खान सजिलो
मन परेकालाई खुवाउन सजिलो।
***
चम्चाले नसके
काँटाहरू सँगै छन्
जसले
कहिले घोपेर, कहिले उधिन्दै
खान सजिलो
मन परेकालाई खुवाउन सजिलो।
***
काँटाले नसके
छुराहरू पनि छन् सँगै
जसले
चिरा-चिरा पारी, आकार-आकारको बनाई
चम्चा काँटा लिएर
खान सजिलो
मन परेकालाई खुवाउन सजिलो।
***
कुनै रेष्टुरेन्टको टेबलमा
सजिएर बसेजस्तै
समाजमा पनि
चम्चा, काँटा र छुराहरू मिलेपछि
यहाँ कसैको केही लाग्दैन
टेबलका परिकारहरू जस्तै
सबै एकिछनमा स्वाहा !
***
यत्रतत्र
सर्वत्र छन्
कुरा लगाउने चम्चाहरू
छाती घोप्ने काँटाहरू
अनि
मन छिया छिया पार्ने छुराहरू
निस्फिक्री हिँडिरहेछन्
बिना संकोच
आफू खान्छन्, मन परेकालाई खुवाउँछन्
हामी त बस रमिते न हौँ !
***

भोजपुर,
हालः हात्तीवन, ललितपुर