महेश प्रसाईं

तीसको दशकका थोरै कविहरू मध्ये एक सशक्त कविको नाम हो – महेश प्रसाईं ।
कुशल शब्द-शिल्पी कवि महेश प्रसाईंको लेखन निक्कै उम्दा लाग्छ । उहाँको लेखनमा नूतन र आविष्कारी कला भेटिन्छ ।
कवितामा सशक्त विचार / कला र प्राञ्जल भाषा नै उहाँको निजत्व हो ।
बौद्धिक सचेतता / कल्पनाशीलता / मानवतादी दृष्टिकोण / वैश्विक सह-अस्तित्वका साथै युगीन संवेद्यताले उहाँका सिर्जनात्मक दक्खल उम्दा र ऊर्जावान् देखिन्छ ।

प्रसाईंको कवितामा समाजको मूर्त / अमूर्त सौन्दर्य लुकेको हुन्छ । शब्द-शब्दमा बहुलअर्थहरू / अभिव्यक्तिको तिख्खर स्वाद । हरेक वाक्यांशबाट आउने मीठो बास्ना र कविताको गाम्भीर्यता पढ्दाको सम्प्राप्ति नै पृथक लाग्छ । नेपाली गद्य कवितामा लामो साधना र समर्पणको प्रतिफल हो प्रसाईंकृत – उत्कृष्ट काव्यकारिता ।
उहाँले हरेक विषयलाई पर्गेल्ने सूक्ष्म दृष्टि / सम्यक् र शालीन प्रस्तुतिले कविताको सार्थकतामा बढाेत्तरी भएको पाइन्छ ।

कवितामा आफ्नै मौलिकता / शैली र स्वरुपले प्रसाईंका कविता भीडमा पृथक उभिएका छन् ।
अनुभूतिको तरलता, भावानुभूतिको अटसमटस सघनता देखिनु नै उहाँको सिर्जनशील वैशिष्ट्य हुन् ।

महेश प्रसाईं सधैं शान्त र सम्यक् देखिनुहुन्छ ।
सरल अनि सबैप्रति सद्भाव राख्ने उहाँका कवितामा पनि जीवनका अनेकौं दर्शनहरू छन् / जिज्ञाषाहरू छन् / समाधानहरू छन् / अथाह ऊर्जा छ / चमचमाउने आलोक छ / युगको गहिरो उछ्वास छ / उज्यालोको तृष्णा छ / मानवीय तिरष्कार छ / अप्रतिम प्रेम छ / प्राप्तिहरू छ / परिवर्तन छ / अपेक्षा छ / आक्रोश छ / आग्रह छ ।

उहाँका कवितामा समाजको अनेकौं सपनाहरू छन् ।
जीवनका उहापोहहरू छन् ।
वि.सं. २०१३ असोज २१ गते भारतको मणिपुरमा माता धरणीदेवी प्रसाईं र पिता गणेशप्रसाद प्रसाईंको कोखमा जन्मनु भएका महेश प्रसाईंले एम.बी.ए. / बी.एल. सम्मको शिक्षा पूरा गर्नु भएको छ ।

प्रस्तुत छ : मधुपर्कको वर्ष १६ अङ्क १, वि.सं. २०४० जेठमा प्रकाशित उहाँको ‘आगत – एक चर्चा’ शीर्षकको कविता –

आगत – एक चर्चा

– महेश प्रसाईं

पूर्वी श्वेताकाशमा जुहारहरूलाई
उठाएर स्वर्णका छटाहरूमा
हिमश्रृङ्गी पूर्वामासका लालीहरूलाई
फिंजाएर लहलहका गराहरूमा
वरपर हुँदै
हातेमालो गर्दै
डगर – डगर
गोरेटो – गोरेटो
बस्ती – बस्ती,

सृजनाका आभाहरू पहिल्याउँदै
निर्निमेष हाँसिरहने हिमाली उल्लास !
सूर्यको रक्तिम पंक्ति !
धर्तीको गीत !
आहा ! समष्टिमा तिमी हौ,
प्रेरणा हौ,
शक्ति हौ,
जो निर्माणलाई घाम जस्तै बाटुलाे बनाउँदै
सुनौला दिनहरू जोडेर
हत्केलालाई पराक्रम जस्तै सावित गर्दै
रुपौला विश्वासहरू गाँसेर,
फुसका घर — दलिनहरूमा
भोकका छिद्रहरूबाट
पीडाका द्वन्द्वहरूबाट
समग्रमा — हाहाकारका रेखाहरूबाट,
चियाउँदै र मितेरी गाँस्दै
सधैं एकपल्ट
जिन्दगीसित बाँच्ने सामर्थ्य चिनाउँछ ।

***