आफ्नो आँशु लुकाउँछौ अरे
कतै कसैले भन्ने त होइन कोमल भनी
थर्काउँछौ श्रीमतीलाई सबैले देख्नेगरि अरे
कतै कसैले भन्ने त होइन लुतिखरे भनी
घरको काममा सघाउँदैनो अरे
कतै कसैले भन्ने त होइन जोइटिङ्ग्रे भनी
चर्को स्वरमा बोल्छौ अरे
कतै कसैले भन्ने त होइन हुतिहारा भनी
देखाउँछौ बल अनायासै
कतै कसैले भन्ने त होइन पानीमरुवा भनी
रुचाउँदैनौ स्त्रीहरूसँगको सम्बन्ध अरे
कतै कसैले भन्ने त होइन स्त्री लम्पट भनी
बाहिर बढी डुल्छौ अरे
कतै कसैले भन्ने त होइन घर बसुवा भनी
बढी ठूलो गफ लाउँछौ अरे
कतै कसैले भन्ने त होइन सामर्थ्यहीन भनी
उनलाई एक्लै हिँड्न दिँदैनौ अरे
कतै कसैको नजरमा पर्छिन् कि भनी
केही गल्ती गरे जोड्ले हपार्छौ अरे
रङ्ग न ढङ्ग भएकी भनी
प्रायः खानामा स्वाद छैन भन्छौ अरे
कुनै सीप नजानेकी भनी
पूजापाठ धेरै भो भन्छौ अरे
अरु केही गर्न जानेकी छैन भनी
किनमेल गर्न सँगै जाँदैनौ अरे
समय सबै बर्बाद हुन्छ भनी
घरको काम धेरै भो भन्दा हाँस्छौ अरे
पुरुष जतिको बोझ केनै धान्नु पर्छ भनी
आफ्नो चरित्रलाई यस्ता आडम्बरले ढाक्छौ किन ?
समाजलाई देखाउन आफूलाई नै बिर्सिन्छौ किन ?
आफ्नो आवश्यकतालाई मारी देखावटीमा लाग्छौ किन ?
आफ्नो प्रकृतिलाई पहिचान गर्न लाग्दैनौ किन ?
बुद्धि विवेकमा ताल्चा लगाई समाजलाई पछ्याउँछौ किन ?
भेदभावको घेराबाट निस्की समतालाई अङ्गाल्दैनौ किन ?
आखिर तिमीलाई जित्नु कोसँग छ ?
आखिर तिमीलाई जित्नु कोसँग छ,हँ ?
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।