तिम्रा दु:खका सागरहरुमा श्रम र पसिनाको मूल्य खोज्दै
तिम्रा दुई आँखाका नानीहरूमा नबिझाउँने नुनिलो पानी बनेर
तप्प तप्प चुहिन चाहन्छु म

तिम्रा हृदयका गहिराइमा चस्स चस्स दुखिरहने
अदृश्य घाउँका असह्य पीडाहरूमा सितल मल्हम बन्न सकियोस्
वर्षौंदेखि थिग्रिएका कसिङ्गरहरू सलल्ल बगाउन सकियोस्
टाँसिएका धुलोका सूक्ष्म कणहरू सजिलै पखाल्न सकियोस्
मनका वनमा दन्दनी सल्किइरहेको डढेलो निर्धक्क निभाउन सकियोस्
विन्दुमा सिन्धु अटाएजस्तै
तिम्रा मनभित्रका सागरमा अथाह महासागर खन्याउन सकियोस्

हो,त्यसैले पानी बन्न चाहन्छु म
तिम्रो प्राण भर्ने, तिम्रो जीवन धान्ने
तिम्रो तिर्खा मेटाउने स्वच्छ पानी बन्न चाहन्छु म

पानीका बूँद बूँद बनेर, विन्दु विन्दुमा स्पर्श गर्न सकूँ
पहराबाट छङछङ गर्दै, छहराहरू वर्षाउन सकूँ
तिम्रा जिन्दगीका खाली पानाहरूमा खुशीका ईन्द्रेणी रङहरू भर्न सकूँ
जीवनका फराकिला फाँटहरूमा कुलो बनेर डुल्न सकूँ
टारीखेतका गह्रा‑गह्राहरूमा पुग्न सकूँ
फलाएर अन्न तिम्रो जीवनको भकारी भर्न सकूँ
कञ्चन नदी बनेर पाखा पखेरा चहार्न सकूँ
आस्था र विश्वासमा अविरल बग्न सकूँ

दुश्मनहरूका निम्ति वर्षायामको भेल बन्न सकूँ
उर्लिदो छाल बनेर पाखा पखेरा लछार्न सकूँ
गड्गडाउँदै ढुङ्गामुढा पछार्न सकूँ
तिम्रो सहारा बन्न सकूँ
त्यसैले म पानी बन्न सकूँ

पानी जीवन हो र त
पलाउँछन् नयाँ नयाँ पालुवाहरू र फक्रिन्छन् कोपिलाहरू
फुल्छन् रङ्गी बिरङ्गी फूलहरू र फल्छन् मिठा मिठा फलहरू

नवैलाऊन् पालुवाहरू पानीको अभावमा
नझरून् रङ्गीन रङ्गीन फूलहरू
नमरून् रुख र विरुवाहरू
नसक्किऊन् मान्छेका सभ्यताहरू
जोगाइरहन सकूँ यो जीवन र जगत
त्यसैले पानी बन्न चाहन्छु म

घुमाएर टर्वाइनका घट्टहरू झलमल्ल बनाउँछ अध्याँरो रातलाई
तिम्रा मनभित्र दन्किने अग्निज्वालाहरू
भावनात्मक आवेगका स्वरहरू
निभाउनु पानीले र शान्त पार्नु आफूलाई
जीवन सहज बनाउने पानी बन्न चाहन्छु म

जीवन पानी हो र पानी जिन्दगी पनि हो
यही जिन्दगी पानी बनेर बगिरहेको जस्तो लाग्छ
र पानी जिन्दगी बनेर बगिरहेको जस्तो लाग्छ
त्यसैले स्वच्छ पानी बन्न सकूँ
म पानी बन्न सकूँ ।

वीरगञ्ज