शान्त थियो ऊ समुद्रजस्तै
खुशीको मोती थियो ऊभित्रै
झल्किन्थ्यो मोतीको चमक
उसको मुहारमा सधैँ
पौडिरहन्थे सधैँ जसो
विचारहरू माछाजस्तै
ठूलो माछाको आहार बन्थे
कयौँ साना माछाहरू !
सबैलाई माया गर्ने ऊ
प्रकृतिलाई पनि उस्तै
सुम्पिदिन तयार भो
सम्पूर्ण आफैँलाई
आज ऊ आकाश
बनेको छ विशाल
कुनै बन्देज छैन उसमा
रोकटोक छैन अब !
कयौँ वर्षदेखि एउटा
महाभारत थियो उसमै
आफैँ अर्जुन र कृष्ण बनेर
आत्तिदै र सम्हालिदै
लडेर एउटा युद्ध
जितेर आफूले आफैँलाई
पूर्णता पाएको अनुभवले
भरिएछ सम्पूर्ण रूपमा !
छैनन् गुनासोका अवशेष
न त छ कुनै द्वेष
न कुनै लालसा छ अब
बुझेर यो परिवेश !
हो, ऊ मरेको छ आज
उसले मृत्यु रोजेको छ
इच्छामृत्यु…
इच्छाहरूको मृत्यु !
गुल्मी



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२६ माघ २०८२, सोमबार 




