लहलह लहराउने ती धानका बालाहरू
अनि फाँटका बीच बीचमा राखिएका परालका कुन्यूँहरू
टाढा टाढासम्म फैलिएका फाँटहरू
अग्ला अग्ला रुखहरू
स्मृतिको धमिलो मानचित्र
डो–याउँछ मलाई मरो गाउँतिर
बोलाउँछ मलाई मेरो अतितले
मेरो त्यो पलको सफरमा
आज अतितसँग धुम्न मन लाग्छ
भावुक भएर…
मेरो गाउँको गोरेटो मलाई साह्रै मन पर्ने
परालको कुन्यूँमा लुकामारी म खेल्ने
त्यो पिपलको छहारी अनि चौतारी
मन्दिरको वरिपरि
वर्षामासको झरीमा कर्कलाको पातको छाता
हिलो र पानीमा झमझम रुझेर रमाउने बेला
अद्भुत जुनेली रात
आकाशमा ताराहरूको ताँती
जून तारासँग बात मार्ने मेरो बानी
यदाकदा सम्झनामा सुसेल्छन्
ती फाँट, रुख, गोरेटो, छहारी अनि चौतारीहरू
स्मृतिको धमिलो मानचित्र
डो–याउँछ मलाई मेरो गाउँतिर
छुट्यो साथ त्यो पलको
फेरियो होला मुहार त्यो ठाउँको
बद्लियो होला गोरेटो म हिँडेको
हराए होलान् ती फाँटहरू
स्मृतिको धमिलो मानचित्रमा
जब चिहाउँछ मेरो अन्तर्मन
आज पनि उत्तिकै जीवन्त प्रतित हुन्छन्
ती चीज, ठाउँ र क्षणहरू
अनि डो–याउँछ मलाई मरो गाउँतिर
बोलाउँछ मलाई मेरो अतितले
मेरो त्यो पलको सफरमा
आज अतितसँग घुम्न मन लाग्छ
भावुक भएर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।