द्वारिका श्रेष्ठ

बीसको दशकका चर्चित कवि हुन् – द्वारिका श्रेष्ठ ।

संख्यात्मकभन्दा गुणात्मक सिर्जना गर्ने द्वारिका श्रेष्ठ नेपाली गद्य कविताका एक उच्च धवल हुन् ।
उनका कवितामा अतिशयोक्ति छैन / आक्रोश र आडम्बर छैन / आत्मश्लाघा र अभिमान छैन । छन् त -सघन विचार / शाश्वत चिन्तन र जीवन्त उक्तिवैचित्र्य ।

बीसको दशकमा [ वि.सं. २०२६ ] भएको एउटा सशक्त साहित्यिक आन्दोलन हो – ‘अमलेख’ ।
नेपाली साहित्यमा अमलेखको गर्बिलो इतिहास छ । त्यस आन्दोलनको एक प्रणेता पनि हुन् – द्वारिका श्रेष्ठ ।

[ अमलेख’मा द्वारिका श्रेष्ठ,कृष्णभक्त श्रेष्ठ , भूपि शेरचन, मोहन कोइराला, मदन रेग्मी, ध्रुवचन्द्र गौतम, रत्नशमशेर थापा, पुरुषोत्तम बस्नेत, भुवन कोइराला ( ढुंगाना ) लगायत जोडिएको पाइन्छ ]

विश्वसाहित्यको गहन अध्ययन र मीमांसा गर्ने श्रेष्ठका कविता क्लिष्ट भए पनि मानवीय स्वतन्त्रता र “बसुधैव कुटुम्बकम्”को भाव अभिव्यक्त भएको पाइन्छ । विश्वका मानवलाई एउटै धागोमा उन्न सक्ने सामर्थ्य राख्ने उनको काव्यभाव भूगोलले छेक्न सक्दैन / मानव सिर्जित साँध-सीमानाले रोक्न सक्दैन ।

निस्वार्थभावले मानिस र मानिसइतरको जिजीविषा, मुमुक्षा र विजिगीषाहरू उनका कविताले उज्जीवित गरेको पाइन्छ ।

मस्तिष्कमा उब्जित भावलाई अभिव्यञ्जनाका माध्यमले सुन्दर प्रस्तुति गर्ने कवि द्वारिका श्रेष्ठ प्रचारमुखी नभइ कर्ममुखी स्रष्टा हुन् । उनी स्वतन्त्रपूर्वक नेपाली गद्य कविताको उन्न्यनमा लागेका एक निष्काम कर्म साधनाले युक्त शाधक हुन् ।

वि.सं. १९९२ भाद्र द्वादशीमा तनहुँको बन्दीपुरमा – माता / पिता बुद्धलक्ष्मी श्रेष्ठ र रेशमलाल श्रेष्ठको कोखमा द्वारिकाप्रसाद श्रेष्ठको जन्म भएको हो । उनी नेपाली साहित्यमा द्वारिका श्रेष्ठको नामले सु-प्रसिद्ध भए । अङ्ग्रेजीमा एम. ए. सम्मको शिक्षा पुरा गरेका श्रेष्ठ वि.सं. २०१३ सालको शारदा पत्रिकामा पहिलो रचना छापेर नेपाली साहित्यमा प्रवेश गरेको देखिन्छ ।

प्रस्तुत छ : आजभन्दा ५६ वर्षअघि- वि.सं. २०२५ साल कात्तिकको मधुपर्कमा छापिएको ‘आफू – आफैंबाट’ शीर्षकको कविता-

आफू-आफूबाट

– द्वारिका श्रेष्ठ

फुकाल्न हुन्न यो आफूलाई आफ्नो कोट झैँ
केही विश्रान्ति र धूलोबाट मुक्त हुन
टाटैटाटा डोबहरू आफ्ना, अरूका
हातखुट्टा र अनुहारहरूका ।
उघार्न हुन्न न त आफ्ना लुगाका सिउनीहरूलाई झैँ
कि सोचूँ नयाँ सिर्जनाको नयाँ खाका
कि सोधूँ पुरानो सिर्जनाको सीमाबद्धता ।
धूलो उड्छ – उड्छ आफ्नै टेकेकोबाट
डोब र अनुहारहरू उत्रिएर आउँछन् आफ्नो परिचयबाट
र सीमाको बद्धता हुन्छ आफ्नै थकाइबाट ।
हराउने ? खै, कहाँ हराउने र ?
परिचयले ढाकिएको यस बस्तीमा
अनुहार उत्रिएको यस ठाउँमा ।

हाम्रो निद्रा कति पातला
खप्टै खप्ट्याउँछु निद्रा दिएर
एकपछि अर्को क्षणमा
र एकपछि अर्को रातमा ।
यो माकुराको जाल
कति पातलो, कति सुन्दर
चिच्याउनु हुन्न, न त सारो कराउनु हुन्छ
चुँडिन्छ यो मन मनैभित्र
कुरुपिन्छ यो मन मनैभित्र
यो मन कस्तो ?
उफ् ! कसरी खजमजाउन सक्छ
आफ्ना सन्तोषका सतहलाई
आफ्ना सीमाका साँधलाई
सन्तोष जो रोपिएन एउटै ठाउँमा
र जो लिएन एउटै रूप
इच्छा जो बढ्यो माछा झैँ
ठूलो-ठूलो हुँदै सानो माछा खाँदै
सीमा जो तरङ्गिइरहन्छ बेर्दै-बेर्दै माछालाई
बेर्दै-बेर्दै सम्पूर्ण पोखरीलाई।
यस आकाशभरिको प्रकाशको विकिरण
मेरो आँखा मानौँ एउटा पोखरी
म अङ्गीकार गरिरहेछु
मात्र लट्ठिन थकाइबाट, आफ्नो अनुहारबाट
सूर्यको उदाउनु र अस्ताउनु
मात्र बिउँझनु र सुत्नु
रेखाबद्धता सीमाको
जो बाँध्न सकिएन यी पाखुरा र पिडौँलामा,
बिउँझनुको एउटा विवशता
जस्तो हिँड्नुको एउटा अतिक्रमणता
आफ्ना सीमाबद्धताहरूमा
जन्मनुको सीमाबद्धता
वर्षौं–वर्षौं साँध–सीमा लगाउँछ ।
मौन र स्थिरता एउटा मृत्यु
हामी मात्र एउटा बीज
जो फस्टियो अनेक हाँगा र उपशाखामा
हाम्रो सुस्केराहरूका माझमा

हामी एक्ला बीज
उभिइरहेछौँ सम्भ्रममा आफ्नै रूखको छहारीमा
आफ्ना इच्छाका छायाहरूमा ।
यो बुद्धको बोधिवृक्ष र यो बुद्धको निर्वासन ।

– मधुपर्क
२०२५ कात्तिक अङ्क