मलाई एऊटा चिता बनाउन मन छ
त्यही चितामा तिमीलाई जलाउन मन छ
एउटा मन आSS होस् भैगो छाड्दे भन्छ
अर्को मन होइन दे–दे भन्छे
खोई के गरूँ गरूँ ?
यो मन खै के भन्छ–भन्छ ?
छाड्नु हुँदैन दे–दे भन्छ

मलाई एउटा चिता बनाउन मन छ
त्यसैमा तिमीलाई जलाउन मन छ
बनाउनु छ एउटा भीमकाय चिता
जलाउनु छ सबलाई पालैसित
किन हो किन, रिसले आँखै देखिनँ मैले
खोई कसलाई जलाऊँ पहिले
यसो नम्बर लगाउँदै जान्छु
पालो मिलाउँदै जान्छु
त्यसलाई हालुँ कि
यसलाई हालुँ भन्छु
यसो गम खान्छु
अहँ
बीसको उन्नाइस भेट्दिन
सबै बीसै बीस मात्र भेट्छु
कसो गरूँ,के गरूँ ?
यो चिता भरूँ कि नभरूँ ?
एक मन भन्छ भर भर
अर्को मन भन्छ,भो हुन्दे त्यसो नगर ।

त्यही त, फेरि कसरी हालुँ चितामा
काम न काजकाहरूलाई बित्थामा
चिताको पनि त इज्जत हुँदो हो
उसको पनि त आत्मा कति रुँदो हो
उसलाई जलाउन
म पनि नजली नहुने
ऊ जल्दा सबै रुने
म जल्दा कोही नरुने भन्दो हो
बिचरो म कति विवश छु
जंगलमा रुख भई बस्छु
चितामा खरानी भई खस्छु
आज फेरि मेरो पालो आएछ जल्ने
चिताग्नि भई दनदनी बल्ने
किन आज ममाथि यी असुरहरूको
पापी दैत्य मानवहरूको
यत्रो बिघ्न थुप्रो
कोही छन् तरुण–तन्नेरी
कोही बूढो, कुप्रो
काटी हातखुट्टा, चिरी पेटछाती
मिलाई मिलाई राख्छन् आर्यघाटमाथि
त्यही चितामा जलाउन मन छ
मलाई एउटा चिता बनाउन मन छ

पाप र धर्मको ख्याल नभएकाहरू
सेवा र कर्मको विचार नभएकाहरू
प्रेम र सद्भाव हराएकाहरू
बुद्धि, विवेक बन्धक बनाएकाहरू
नीति र सिद्धान्त पोली खाएकाहरू
देश बेची शेष बनाउन उद्यत पिपासुहरू
घाम काम भन्दै घरी नाम भन्दै
घरि रुख भन्दै घरि घाम भन्दै
गोरूझैं जनता जुधाउनेहरू
सडकमा वानर बनाई कुदाउनेहरू
आफू र आफ्नालाई भन्दै ढुकुटी लुटाउनेहरू
घरै बसी घर फुटाउनेहरू
आन्दोलनका नाममा जनता कुटाउनेहरू
सत्र हजार लाशमाथि रमाउनेहरू
सत्तामा बसी कमाउनेहरू
नाम राम, काम हराम भएकाहरू
लाज–घिन, डर, शरम नभएकाहरू
सबै लबस्तराहरूलाई
समाएर पालैपालो
त्यही चितामा जलाउन मन छ
मलाई एउटा चिता बनाउन मन छ

एउटा मन आSS होस् भै’गो छोड्दे भन्छ
अर्को मन होइन दे–दे भन्छ
खोई के गरूँ गरूँ ?
यो चिता भरूँ कि नभरूँ ?
एक मन भन्छ भर भर
अर्को मन भन्छ, भो हुन्दे त्यसो नगर ।