एक थान रहर सजाएर
परिवारको चाहना
र,
सपनाहरूको भारी बोकेर
लगायो बिर्खेले पासपोर्टमा भिसा
आमाको आँशु
प्यारीको माया
छोराछोरीको बालापन
अनि,
बुबाको बूढो शरीर
सबै थाँति राखेर
उड्यो सपनाको देश
परदेशियो बिर्खे
एयरपोर्टमा झर्नासाथ
उम्लिएको पानीको बाफले हानेजस्तै लाग्यो उसलाई
तापले तप तप चुहिए पसिना
सम्झियो त्यो घरगाउँ
प्रकृति नै एसीजस्तै
हावाका झोकाले गालामा थप्पड हानेर पर भाग्थे
सुसेली हाल्दै चौतारीमा बसेर मायालाई डाक्थे
ती सब अब सम्झनामा थिए
हकिकत थियो
आगोको रापजस्तै तातो
एयरपोर्टमा घण्टौ कुर्यो
लिन आएनन् कोही
काम दिने भनेको कम्पनीको कतै देखेन नाम
विशाल एयरपोर्टबाट बल्ल निस्कियो सडकमा
सडकमै गाँस र बासमा बिते कति दिन
आमाले भोक लाग्दा खानु है भनेर पठाएका
मकै र भटमास पनि सकिसकेका थिए
केही किनेर खानु है भनेर बाबाले दिएका पैसा पनि सकिसकेका थिए
मन र गोजी रित्तिएपछि,
तुहिएर गए उसका सुन्दर सपना
पर … देशबाट घर देशलाई सुख सुविधाका चाङहरु पठाउन गएको ऊ
आफ्नै सपनाको हत्या भएको सन्देश पनि पठाउन सकेन
उसले आफ्नै देशका जस्तै मान्छे देख्यो
बोलायो, ए दाइ !
म पनि नेपालबाट आएको
अलपत्र परेँ
तर,उसलाई कोहीले ढाडस दिएनन्
संवेदना मरिसकेकाहरूलाई आफ्नो भनेर चिनाउनुको के अर्थ ?
मुन्टो बटार्दै हिँड्थे ढुंगेमनहरू
के देश र देशप्रेम देशको सिमाना भन्दा पर पुगेपछि
पत्थर हुन्छ हो ?
कुर्दाकुर्दै एक दिन आयो एउटा कतारी
खाना र नानाले गरिब भइसकेको बिर्खेलाई
गाडीमा राख्यो
लग्यो मरूभूमि नै मरूभूमि
कतै थिएनन् रुख
चल्थेनन् हावा
लाग्थ्यो सूर्य उसैमाथि छ
एकतमास सारा तापहरू उसकै टाउकोमा बर्साइरहेछ
घाम र रापले पोलेका थिए शरीर र मन
तर काम पाउने आशमा सबै सह्यो उसले
अनि पायो ऊँटको एक बथान हुल
जो उसको पर्खाइमा बसिरहेका थिए
उसको स्याहार पर्खिरहेका थिए
राप र तापले आलसतालस
न बस्ने ठाउँ, न खाने ठाउँ
सुखहरू किन्न विदेशिएको बिर्खेले
दुःखका पहाडहरू मात्रै पायो
बालुवाले भतभति पोलेका पैतालामा फोका उठेका थिए
उसले सम्झ्यो त्यो बालापन
नयाँ जुता लाउँदा गोडामा उठेको फोका फुट्दा उसले घरै उचालेको थियो
आमाले एक चम्चा घिउ दिएर फकाएकी थिइन्
अब उसका खुट्टाभरि फोकैफोका थिए
उसलाई के भयो सोध्ने कोही थिएन
उसको साथ अनि साक्षी ऊ आफैं थियो
थियो त परिवारका आवश्यकताहरूको फेहरिस्त
सम्झेर भतभती पोल्यो उसको मुटु
क्यान्सर लागेकी आमालाई चढाउनु थियो किमो
बाबाको दमको उपचार गर्नु थियो
कृष्ण र रमालाई पढाउनु थियो बोर्डिङ
अनि, प्यारीलाई किनिदिनु थियो मखमली चोली
सबै सबै सम्झिएर मुटु फुट्लाजस्तो भयो
नियति र चाहना कति अलग
कल्पना र वास्तविकता कति फरक
पैसाको बुटो खोज्न/टिप्न गएको ऊ
आज आफैंलाई बचाउन संघर्ष गरिरहेछ
कसरी पूरा गर्छ परिवारको आवश्यकता ?
सुनेको विदेश र भोगेको विदेश कति फरक ?
पैसाको बुटो छैन साथी
हाड, छाला, रगत र बैँश बेचेर पुर्याएको खुशीले कति सुख देला ?
कति शान्ति देला ?
बरु परिवारसँगै बसेर उनीहरूको दुःखमा मल्हम लगाउँदै खनौ कुटो कोदालो
खाऊँ एक छाक भात
फर्क आऊ,
अब हामी हाम्रै देशमै केही गरौँ न!
आमासँगै बसौन !
विदुर-०१,नुवाकोट
बागमती
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।