आज बिहानै
मैले ‌आँगनमा एउटा पात भटेँ
सोधेँ आज किन यहाँ ?

पात-
म सुकेर झरेको हुँ मित्र
अब म कहिल्यै त्यो हाँगामा चढेर
पिङ खेल्ने छैन
हावाको इशारामा
कम्मर मर्काउने पनि छैन
धर्तीमा झर्दै गरेका
ती पानीका थोपाहरूलाई
बाटो छेक्ने छैन
धर्तीलाई खुला आकाश हेर्न
फेरि कहिल्यै रोक्ने छैन
प्रेमका प्रतीक ती ढुकुरहरूलाई
फेरि म कहिल्यै भेट्ने छैन
अनि तिम्रो मायालुसँगको भेटघाट
त्यो पनि अब लुकिलुकी हेर्ने छैन
किनकि त्यो हाँगालाई “म” पुगिसक्यो
उसको मायाको खडेरीले सुकेर
आज म झर्न बाध्य भएँ
मित्र- इफ यु डोन्ट माइन्ड
मलाई टिपेर त्यो सुन्दर फूल फूल्ने
गमलामा राखिदे न प्लिज !

जरुर भन्दै मैले पातलाई टिपेर
गमलामा राखेँ
सोचेँ-
म त सुकेर झरिनँ नि
त्यो दिलबाट झारिएँ पो त
अब मलाई कसले गमलामा राख्ला ?

रोङ ४
इलाम