प्रत्येक दिन
प्रत्येक साँझ
तिमी गएको बाटो हेरिरहौँ लाग्छ
यो प्रभातको कलिलो घामजस्तै तिमी
त्यसरी नै झुल्किएका थियौ
उज्यालो कोसेली दिएर
पहिलो पहेँलो रङ बाँडेका थियौ मसँग
जसरी सादा बादलका थुङ्गाहरू
आकाशमा रङ्गिएका थिए सुनौलो रङमा
तिमी सोध्थ्यौ बेलाबेला
“म कस्तो लाग्छु ”
के भँनु/ के भँनु भएर म भन्नै सक्दिनथेँ
यो बिहानको घामसँगै
तिमी उदाउँथ्यौ भने
आज भन्ने थिएँ
“तिमी गर्मी मौसमको भित्ते पङ्खाजस्तो”
“त्यस्तै डल्लो ?”
तिमी चम्किला आँखा चिम्रा पार्दै
जिस्किन्थ्यौ, मुसुक्क हाँसेर
ओहो त्यो मुस्कान !
कसैले मलाई किन सोध्दैन अहिले
संसारमा सबैभन्दा सुन्दर के देखेकी छौ भनेर
“ए, अनि तिमी पङ्खाजस्तो
यसरी कि तिमीसित तिम्रै छेउछेउ
गइरहुँ जस्तो लाग्छ”
मेरो यस्तो उडन्ते उत्तर सुनेर
तिमी पनि हाँस्थ्यौ होला, कुम हल्लाएर
उफ् !
त्यो मुस्कान, त्यो हाँसो..
भेट्ने जति सबैले
दोहोराई तेहोर्याई सोधिरहून्
“संसारमा सुन्दर के देखेकी छौ?”
भनुँला \नभनुँला कसैलाई
मलाई बहाना बन्नेछ
तिमी हाँसेको सम्झिने
यस्तो लाग्छ, तिमी गएको बाटोमा
त्यहाँ नै पात नझरोस्
त्यहाँ कुनै झार नपलाओस्
तिम्रो पाइलाको डोब हावाले नबिगारोस्
जाँदाजाँदै तिमीले गुन्गुनाएको गीत
कतै लुकाएर राखोस् बतासले पनि
अनि पार्श्वमा त्यही गीत बजोस्
जब तिमी र म भेट्नेछौ
र तिमीले झोलाभरिका
यात्राका कथा फुकाउने छौ
साँझको घामजस्तै क्षितिजपारि
बिलाएका तिमी बिहानीको लालीमा
समेटेर ल्याउनेछौ
बिहान घाम झुल्किए जसरी
आउनेछौ परबाट
क्रमश:
बिन्दु
धर्सो
धमिलो चित्र
मान्छेजस्तै आकृति
धमिलो मान्छे
मान्छे
र अन्तमा तिमी भएर
कसरी आउँछौ; कसरी भेट्छौ भनन मलाई
बच्चै हुँदा मेलामा हराएको
पुरानो चलचित्रको नायक
वर्षौंपछि
मारिएको बाबुका शत्रुहरूलाई जितेर
झोला उडाउँदै
आमा भेट्न आए जसरी कि
ऊ.. कटारी घुर्मीबाट हजुरबुवाले
वर्षभरिलाई पुग्ने
नूनको भारी
मुर्चलको भिरैभिर उकालेर
देउरालीमा बिसाए जसरी कि
कोदो र मकैका च्याँख्लाले
पाछेका सन्तानका जिब्रामा
चामलको भातको स्वाद फेर्न
गैरीखेत किन्ने भनेर
देश र मान्छे चिन्ने भनेर
जानुभएको बुवाले
चौथो दशैंमा ल्याइदिनु भएको
पहेँलो सारी
आमालाई सुहाए जसरी कि
तिम्रा याद यति मिठो छ कि
याद नै कविता भएको छ
त्यो अन्जान स्पर्श
र तिमी गएको बाटो
मानौँ प्रेमको देउता भएको छ ।
बागमती ५ सर्लाही
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।