सप्तरङ्गी छन्दमालाको ४७औं अङ्कमा वरिष्ठ साहित्यकार नारायण नेपालको जीवनीसहित उनका छन्दका केही उम्दा कविताहरू समेटिका छन् ।

सम्पादकः यम रेग्मी

१.मलाई मुक्ति चाहियो

मुमा ! मभित्र दूधको यथार्थ बोध जन्मियो
अबोध बाल्यकालको कपोल कल्पना गयो ।
म आज एक व्यक्तिझैँ डटेर भन्न सक्तछु
म दास हैन बन्धु हो ! मलाइ मुक्ति चाहियो ।

म जेल नेल खेलका कुरा सुनेर डर्दिनँ
म लेखनाथभित्रको सुगा बनेर बस्तिनँ ।
मलाइ तान्न पाउने नगर्नु व्यर्थ साहस
स्वयं म सूर्यपिण्ड हूँ कसोरि शक्ति चाहियो?

अनादिकालदेखिका शहीद ती कहाँ गए ?
अनाथ-बाल-गर्भिणी- पतिव्रता कहाँ गए ?
लुकाउने प्रयासमा अनेक खेल भैसके
चुस्यौ, पियौ हिजो त्यही मलाइ रक्त चाहियो ।


सुके गले गरीबका निरीह हात-पाखुरा
उदाङ्ग नग्न देखिए हिमाल-बाल टाकुरा ।
कतै प्रभात नै नभै मरे असंख्य च्याँखुरा
मलाइ आज राष्ट्रको यथार्थ सत्य चाहियो ॥


म द्रोहको जवाफ हूँ नझस्क देशभक्त हो!
मभित्र सल्बलाउने उही पवित्र रक्त हो ।
मलाइ हेर भित्र गै मसँग के छ चाहना
मलाइ मात्र मर्मको सहानुभूति चाहियो ।।


म अन्धकारमा रहेर अन्धकार भैसकेँ
जलें, गलें र च्यातिएँ म तार-तार भैसकेँ ।
जताततै छ मौनता सुषुप्त लुप्त वीरता
मलाइ आज एउटा अमोघ अस्त्र चाहियो ।


समग्र राष्ट्रगीतमा हुँदैन राष्ट्रको व्यथा
कसोरि लेख्छ लेखनी रुँदारुँदै मिठो कथा ।
जहाँ समस्त राष्ट्रको खुलस्त चित्रलेखियोस्
मलाइ आज एउटा विशाल गीत चाहियो ।


सधैं उनी उँभो – उँभो म चैँ झरेँ तलै किन ?
म के उनी समान भै स्वतन्त्र ज्यून सक्तिनँ ?
असंख्य हार भैसके नदेउ हार भो पुग्यो
मलाइ आज न्यायको पवित्र जीत चाहियो ।


दिएन कल्पवृक्षले समान शीत छाहरी
सकिन्न गर्न दासझैँ झुकेरमात्र चाकरी ।
हुँदैन रिक्त पेटले स्तुति-प्रशस्ति सह्य यो
मलाइ आज कर्मको सशक्त मूल्य चाहियो ।

***

२. सिकौँ पुर्खाबाट

पसी हरेक बाजामा हावा त्यै सुर बोल्दछ
सुन्नेका कानमा आई मीठो अमृत घोल्दछ ।
हौँ त्यस‌ै वायुका पुत्र किन बेसुर बग्दछौँ
बिर्सिएर पिताधर्म आआफ्ना भाग्य ठग्दछौँ ।।

यो आकाश सबैलाई अँगालेर अनन्त छ
काखमा ग्रीष्मवर्षा छन् आँखामा यो वसन्त छ ।
उसैका पुत्र भै हामी लाखापाखा भयौँ किन ?
नपढे पनि संसार पुर्खाको अस्मिता चिन ।।

आगाले यो अँध्याराको राज्य निर्मूल पार्दछ
जलाई मलको थुप्रो सुनलाई निखार्दछ।
भई अग्निशिखा हामी किन निस्तेज छौँबलौँ
पोलौँ कायरतालाई सत्यको पथमा चलौँ ।।

पिएर मलको भारी फूल हाँस्छिन् धरा सधैँ
कुल्चिए पनि साराले भोक मास्छिन् खुसी हुँदै ।
उनैका स्तनधाराले हुर्किएका त हौँ सबै
किन लोभी र पापी छौँ, व्यस्त छौँ किन लुट्नमै ।।

धराको प्राण हो पानी जलम‌ै सृष्टि फुल्दछ
अस्मिता- शक्ति हो पानी जहाँ सौन्दर्य झुल्दछ ।
हौँ हामी जलक‌ै थोपा किन शुष्क कुरूप छौँ
भिजाऔँ स्नेहले घाँटी बचाएर सँगै बचौँ ।।


***

३. जागे हामी के उज्यालो हुँदैन ?

बोक्दै जाँदा उच्च दायित्वबोध
खुल्छन् भित्री चेतनाका प्रबोध
भुल्द‌ै जाँदा स्वत्व दायित्वलाई
आफ्ना जम्मै बन्न थाल्छन् पराई ।

आशा मारे मर्छ सारा भविष्य
भाषा मारे झर्छ देशै अवश्य
बन्छौँ हामी शब्दले अग्रगामी
खोजौँ आफैभित्र दायित्व छामी ।

बाचा हाम्रा छन् सबै ती अपूर्ण
लज्जा बिर्से अस्मिता हुन्छ चूर्ण
गर्छन् पूरा यत्नले स्वप्नलाई
बोकौँ आफ्नामात्र दायित्वलाई ।

होला पूजा साधनाको सदैव
गर्नेलाई मित्रझैँ हुन्छ दैव
दिन्छन् धर्ती-व्योम दायित्वशिक्षा
टर्दै जान्छन् कर्मले यी परीक्षा ।

सक्छौ पूरा विश्वकै मान राख
त्यो सक्दैनौ देशका निम्ति जाग
तिम्रो कीर्तिस्तम्भ दायित्व नै हो
पूरा गर्दै मुक्तिका तर्फ लाग ।

भाषा रोपे भानुले कन्दरामा
बाँधे पृथ्वी भूपले एकतामा
फाँसी रोजी होमिए ती हुतात्मा
पुर्खा बिर्से बेसरी रुन्छ आत्मा ।

हामी अर्कै देशका निम्ति लड्छौँ
आफ्नालाई कुल्चिई माथि चढ्छौँ
के यै शिक्षा बुद्धले सुम्पिएथे
मञ्जुश्रीले ज्ञान के यै दिएथे ।

आमाबाबा ईश हुन् मार्गदाता
पीडा बुझ्ने व्यक्ति नै हुन् विधाता
फक्रे हामी बासना उड्छ माथि
आमा हाँसे गर्वले फुल्छ छाती ।

आगो रोपे शान्तिको सुक्छ पानी
आस्था बाँचे बाँच्छ हाम्रो कहानी
प‌ैला तिर्खा-भोकका शत्रु मारौँ
रोपौँ मैत्री-फूल, सद्भाव सारौँ ।

यै धर्तीमा व्यास-वाल्मीकि उत्रे
यै माटोमा शत्रुका शीर्ष लत्रे
के यो पूँजी दिव्य ऊर्जा दिँदैन
जागे हामी के उज्यालो हुँद‌ैन ।
१०
***

४. इच्छा

बनोस् देश मेरो सबै राजधानी !
गुफासम्म न्यानो, जरासम्म पानी।
हिँडून् चक्रबाटा सयौं कोशसम्म
महादेव-गुह्येश्वरीको सिरानी ।।

सबै मूलका पातमा शीत टल्कोस्
कुनै शीर्ष खम्बा व्यथाले नढल्कोस् ।
सबै हार जागून् सबै जीत हारून्
नहारून् पिताले दिएका निशानी ।।

महा हंस उड्ने उही व्योम मेरो
तिमी भन्न सक्छौ त्यही व्योम मेरो।
सबै भूमि-आकाश तिम्रो र मेरो
कहाँ साँध-सीमा, कहाँ लाभ-हानि ।।

सयौं नाश गर्छन् तिमी रच्न थाल
सबै छोडिदिन्छन् तिमीले उचाल ।
तिमी एउटाझैँ सबै बन्न सक्दा
कहाँ लोभ ईर्ष्या कहाँ यो रिसानी ।।

***

५.मुक्तिमन्त्र

विकाससाथ चेतना अगाडि बढ्नुपर्दछ
शरीर हैन मित्र हो ! विचार लड्नुपर्दछ ।
विचारमा पनि ‘स्वयं ममात्र सत्य’ मानिँदा
विचारको घमण्डले पछाडि पर्नुपर्दछ ।।

स्वतन्त्र चेतनाहरू जलेर गैदिए भने
परम्परा र सभ्यता ढलेर गैदिए भने ।
युगौं सुतेर ब्यूँझियौं अझै लड्यौँ फुट्यौँ भने
शहीदको सरापले गुलाम बन्नुपर्दछ ।

म राष्ट्रभक्त राष्ट्रको समस्त ढुक्ढुकी म हुँ
पहाड कन्दरा जरा, अमीर वा दु:खी म हुँ।
रहेन राष्ट्र यो भने तिमी म मर्दछौं दुबै
यथार्थ यो सधैं सधैं बुझेर बस्नुपर्दछ ।

जहाँ छ उच्च शृङ्खला त्यहाँ त नीचता नहोस्
विदेह-बुद्धपुत्र हौं भने अनेकता नहोस् ।
स्वतन्त्रता छ कर्मको भुलेर मूर्खता नहोस्
पुनश्च वज्रपात भै स्वतन्त्रता नसल्कियोस् ।। ४
***

६. माटो

पराग जन्माउँछ मृत्तिका यो
खुराक अन्माउँछ मृत्तिका यो।
सदैव धर्मान्ध भई लडे पनि
यथार्थ देखाउँछ मृत्तिका यो ।।

कुबेर के बेर बतास आए
फकीर के पीर यहीँ रमाए।
अनन्त ऐश्वर्य भनी सुतेका-
हरू अरूकै भरमा निदाए ।।

अखण्ड सौन्दर्य यहीँ छ गुप्त
हुँदैन केही पनि सारलुप्त ।
जिजीविषामा जति फन्किए नि
माटो चुमी हुन्छ जगत् सुषुप्त ॥

माटो हुँदै वृक्ष बनूँ बरू म
उम्म्री समाई लहराहरू म।
आकाश ओढेर सुतूँ धरामा
आँखा बनूँ अन्ध परम्परामा ।।

७. छ सबै तिमीसँग

हिमाल हाँस्दै छ उसैगरी अझै
बोल्छन् चरा ताल टिपी उनै उनै ।
झर्छन् छिटा बादलबाट उस्तै
माया छ उस्तै, ममता दुरुस्तै ।।

दिन्छिन् धरा अन्न अनन्त दाना
बग्छन् नदी फूल बनी ससाना ।
मौरीहरु एक भई बटुल्छन्
पीयूषधारा महका खजाना ।।

ए! रोकिएका बटुवाहरु हो !
माटो त तिम्रै छ अझै मुठीमा ।
संसारका नायक माथ टेक्छन्
आलोक छर्ने ऋषिका कुटीमा ।।

***

लेखकको परिचय
साहित्यकार नारायण नेपाल जन्म २०२०/३/२९ गते पिता चिरञ्जीवी नेपाल र माता गङ्गादेवी नेपालको कोखबाट पुतलीबजार न.पा., स्याङ्जामा भएको थियो । आचार्यसम्म (शाङ्कर वेदान्त दर्शन )शिक्षा हासिल गर्नुभएका नेपाल पेशाले नेपाल संस्कृत विश्वविद्यालयमा सहप्राध्यापक हुनुहुन्छ ।
कविता,निबन्ध,गीत, गजल विधामा कलम चलाउँदै आउनुभएका साहित्यकार नेपालको पहिलो रचना ‘विद्यार्थिनो दुर्गुणा : कर्तव्यञ्च’ शीर्षकको कविता वि.सं.२०३६ मा भारतको गोरखपुरबाट प्रकाशित हुने “संस्कृतामृतम्” पत्रिकामा छापिएको थियो ।
साहित्यकार नेपालका प्रकाशित कृतिहरूमा मिट्टी उठाओ ( हिन्दी कवितासङ्ग्रह २०५६ ) मेरा मनका गीत (नेपाली गीत-गजलसङ्ग्रह २०६०)
मूल्यहरू (निबन्धसङ्ग्रह २०६३ ) मुक्तिमन्त्र ( छन्दोबद्ध नेपाली कवितासङ्ग्रह २०७२) नारायण नेपालको ‘मनोरथ काव्यगान’२०७४(यूटुबमा) आफ्नै शब्द र स्वरमा दर्जनौं गजल तथा गीत रेकर्डिङ भएका छन् ।
हाल घोराही उमनपा- ११, सिद्धार्थ टोल दाङमा पत्नी सन्ध्या नेपालका साथ बस्दै आउनुभएका साहित्यकार नेपालका जय नेपाल र गौरव नेपाल गरी दुई सन्तान रहेका छन् ।