हिजोआज
मनको कुलेसोमा
यस्तो चाहना बग्दै छ

म यसरी बाँचौँ
कसैलाई बाँच्नुको प्रमाण दिँदै हिँड्न नपरोस्
मलाई थाहा छ
मेरो स्वासप्रश्वासको निरन्तरताले मात्रै
यहाँ कसैले मान्ने छैन मेरो जीवन्त अस्तित्व
कसैले बुझ्ने छैन
मेरो पैतालामुनि पनि उही माटो छ
कसैले शीर उठाएर हेर्ने छैन
म माथिको नीलो गगन
पाइला-पाइलामा
मैले प्रमाणित गर्नुपर्ने छ
‘यहाँ म पनि बाँच्दै छु’

बङ्गला,गाडी,लवाई,खवाई,बोलाई,कमाई
यी सप्पै सप्पै शर्तमा टेकेर
जब म गर्जने छु- सभा,समाज र सञ्जालमा
लालमोहर लाग्ने छ मेरो अस्तित्वमा
तब म बाँचेको ठहरिने छु

तर म चाहन्छु यसरि बाँचौँ
कसैलाई बाँच्नुको प्रमाण दिँदै हिँड्न नपरोस्

उहिले उहिले मलाई
बाँच्नु जत्तिको भयानकता अरू के हुन सक्ला?
जस्तै लाग्थ्यो
किनकि
आफन्त र छिमेकीका अनेक शर्त रुपी सवालका जवाफ
मसँग हुँदैनथ्यो
उनीहरू भन्ने गर्थे
समाजले निर्धारण गरेकै शर्तको हाइवेमा
मैले जीवनको गाडी हाँक्नु पर्छ
न दायाँ न बायाँ
त्यसो हुन नसक्दा म लघुताभासले कचक्क थिचिन्थेँ
लाग्थ्यो,
यो समाजभन्दा पर गएर बाँचौँ
जहाँ निस्फिक्रीको सिम्फोनी तरङ्गिइरहेको होस्
र यसरी बाँचौँ
कसैलाई बाँच्नुको प्रमाण दिँदै हिँड्न नपरोस्

हिजोआज मलाई मर्न डर लाग्छ
मर्नभन्दा धेरै डर
मिनेट मिनेटमा मेरो लाश
चोक्टा चोक्टा भएर
सञ्जालभरि छरिएला भन्ने डर लाग्छ

म यसरी मरौँ
म मरेको प्रमाण कसैलाई दिन नपरोस्
सामाजिक सञ्जालमा मेरो मृत्युको तमाशा नहोस्
नीलो भएर सड्न लागिसकेको मेरो लाशमाथि
कुनै क्यामेरा नठडियोस्

के बित्ला मेरी आमाको मनमा
जब उहाँले अकस्मात् मेरो वीभत्स लाशलाई
आफ्नो सेलफोनमा देख्नुपर्दा?

के घट्ला मेरी श्रीमतीको हृदयमा
बजार गएको आफ्नो खसमको
लासलाई फेसबुकको भित्तामा देख्नुपर्दा?

यो जीवन माटोको भाँडो हो
यसलाई जति नै जतन गरे पनि
एकदिन प्याट्ट फुट्ने छ
माटोको भाँडो रुपी यो जीवनको पिँधमा
सपना,प्रेम,त्याग,अनुभव र ज्ञानका दानाहरू
खसेका हुन्छन्
जसलाई करुणा र विवेकका ढकनीले
सदा सुरक्षित राखेको हुन्छ
म चाहन्छु
मेरो जीवन प्याट्ट फुट्दा
ती दानाहरू असरल्ल नछरिऊन् ।

म चाहन्छु यसरी बाँचौँ
कसैलाई बाँच्नुको प्रमाण दिँदै हिँड्न नपरोस्

म चाहन्छु यसरी मरौँ
म मरेको प्रमाण कसैलाई दिन नपरोस् ।

जापान