सडकमा जब जोडले सिटी बज्छ,
निस्कन्छन् घरघरबाट फोहरका पोका
कुनै स—साना, कुनै ठूला बोरा, धोक्राहरू
म कहिल्यै याद गर्दिनथेँ
को लिन आउँछ? कस्ले लगेर दिन्छ?
ठूलो गाडीमा कसरी चढाउँछन्?
कहाँ लगेर खसाल्छन् ?
एक दिन
म आफैँ फोहरका बोरा गेटमा पुर्याउँछु
कोठा भित्रबाट गाडी आयो कि चिहाउँछु
हेर्नै जान, मनले मान्दैन
तर आँखाहरू
बाराम्बार प्वाल चिहाइरहन्छन्
फोहोरको गाडी आयो ?
जवाफमा आमाले, आइवरी गइसक्यो भन्नुहुन्छ
खुट्टाहरु थरररर काँप्छन्
गेटतिर दौडन्छन्
एकनासले सिटी बजाउँदै गाडी गइरहन्छ
किन पो हेरिस् कान्छा ? आमाको प्रश्नमा
मनमनै तिमीलाई जवाफ दिन्छु
नहेरौँ कसरी ?
एउटा बोरामा तिम्रो लाश राखेर पठाएको थिएँ
खाना खाएनौ, अन्तिम गाँस
केही थोपा दुध पिलाएको थिएँ
साँझसम्म भेटनरीमा बस्यौ
स्लाइन चढाएँ, घण्टौँ कुरी बसेँ
अलिकति अक्षता र फूल चढाएर
तिम्रो अन्त्येष्टि गर्न मन थियो
तर मेरो संस्कारमा
अन्त्येष्टि लाश गाढेर गरिन्छ
जहाँ फोसिल्लसहरू लाखौँ वर्ष अस्तित्वमा रहन्छन्
इतिहास र पहिचान मर्न पाउँदैन
अपसोच,
भूमि खोसिएको भूमिपुत्रसँग
एकबित्ता जमिन थिएन
तिमीलाई दिने त माया पो थियो त
बालुवाटार किन्ने क्षमता थिएन
यहाँ जमीन जोड्न
कि राजनेता, कि न्यायाधीश हुनुपर्छ
कि हाकिम, कि कर्मचारी हुनुपर्छ
जो म थिइनँ
र त तिम्रो लाश बोरामा पठाएँ
केही बर्खाहरू सँगै काट्यौँ
कसरी था पाउँथ्यौ कुन्नी ?
घर पुग्ने बेला गेटनिर लिन पुग्थ्यौ
निःस्वार्थ माया सिकायौ, इमान्दारी सिकायौ
इमान्दारी हराएको कथित सर्वश्रेष्ठ हामीसँग रहिरहन
शायद तिम्रो नैतिकताले दिएन
र त गयौ चुँडालेर मुटुहरू
कदर गर्दै, तिम्रो इमान्दारीलाई
परायाको जमिनमा सुटुक्क लुकाउन सकिनँ तिम्रो लाश
मलाई माफ गर
मलाई माफ गर क्येली
मेहनत र परिश्रमको मेरो कमाईले
एक टुक्रा जमिन जोड्न सकेको थिइनँ
त्यसैले तिम्रो लाश बोरामा पठाएँ
म एउटा शान्तिपूर्ण युद्धमा छु
सहअस्तित्व, सदाचार र सद्विचारको युद्ध
जहाँ फूलहरू र झारहरू समान हुनेछन्
जहाँ हरेकको अस्तित्व र पहिचान हुनेछ
यदि बीचैमा म रहिनछु भने
मेरा सन्ततिले लड्ने छन् यो शान्तिपूर्ण युद्ध
र म त्यही गाडी चढेर आउने छु
जुन तिमीले चढेर गयौ
त्यही फोहोर बोक्ने गाडी ।
(याक्थुङ (लिम्बु) भाषाबाट नेपालीमा अनुवादित)
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।