माया
ऊ माया हो
आफैँलाई भुलिसकी
तर उसलाई भुल्न सक्दिन
ऊ यतै कतै छे
यतै वरपरै घुमिरहन्छे
मीठा मीठा कुरा गर्दै
नजिकिने बहाना बनाइहाल्छे
बेला बेला जिस्किएर
आफ्नै जालमा फसाइँहाल्छे
ऊ माया हो
माया, यतै कतै घुमिरहन्छे
मेरै वरपर घुमिरहन्छे
जब,
मन भड्किन्छ
अनि मौका छोपी हाल्छे
अनेकौँ बहाना बनाई बनाई
आफ्ना जालमा फसाइहाल्छे
मेरै वरपर दौडिरहन्छे
माया, ऊ माया हो
अनेकौँ तर्क गरिरहन्छे
आफ्नै बसमा पारिरहन्छे
जब,
मन सहज हुन्छ
आफ्नो अस्तित्व जमाइहाल्छे
भएभरका ज्ञानलाई पनि
तर्कले खरानी बनाई छाड्छे
जिस्की जिस्की बहाना गर्दै
आफ्नो पासो फिजाइहाल्छे
फकाइफुल्याई दङ्ग पारी
आफ्नो तृष्णा मेटाइहाल्छे
माया
ऊ माया हो
अनेकौँ प्रपञ्च रचिहाल्छे
आँखा झिमिक्क पार्नै हुन्न
भुक्लुक्क उम्लिएर पोखिइहाल्छे
नानाथरिका बहसलाई
पार लाउनै कठिन पार्छे
आफ्नै कुरा माथि पार्दै
अनेकौँ सञ्जाल बुनिहाल्छे
मनको अवस्था नियालेर
आफ्नो चतुर्याइँ देखाइहाल्छे
उसको भेद नजान्नेलाई
आफ्ना वशमा पारिहाल्छे
आफ्नो कुरामा फसाइहाल्छे
माया, ऊ माया हो
यस्तै खेल खेलिरहन्छे
अनेकौँ वाचा बन्धनलाई
छिनभरकै भष्म पारिदिन्छे
आफ्नो मोह पासोमा बेरी
आफूमै चुर्लुम्म डुबाइहाल्छे
माया
ऊ माया रुपी अभिनेत्री
मूल स्वरुपलाई विखण्डन गर्दै
अनेकौँ खेल खेलिरहन्छे
नाट्यशालारुपी यस जगतमा
अनेकौँ लीला रचिरहन्छे
अनेकौँ लीला रचिरहन्छे ।
बूढानीलकण्ठ, काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।