पृथ्वीको जन्मदिन पारेर
आकाशको भित्तामा काँटी ठोकेर
झुण्ड्याउन चाहन्छु तिम्रो तस्वीर
दुःखको पहाड उक्लँदा होस्
या सुखको नदी तर्दा
सफलताको मैदान पार गर्दा होस्
वा असफलताको भारीले थिच्दा
देख्न सकौं तस्वीरमा
तिमीलाई मुस्कुराइरहेको
तस्वीरको मुस्कान देखेर
अलिकति आँट र भरोसाको आयतन बढोस्
थोरै हौसलाको घाम लागोस्
अनुहारभरि उत्साहको जून उदाओस्
मनको बगैंचामा खुसी र उमंगको फूल फुलोस्
आफैंलाई छाडेर भाग्दै गरेको
समयको गाडी टक्क रोकियोस्
किनारालाई एक्लै पारेर दौडिरहेको नदी
चौतारीमा उक्लिएर
थकित यात्रीहरूको प्यास मेटोस्
उमेरको भर्याङ चढिरहेको तानाशाही युग
गर्ल्यामगुर्लुम लडोस्
अनि भाँचियोस् हातखुट्टा
अनुहार कुच्चिएर कुरुप बनोस्
चाकडीको प्रतीक्षामा बसेको
ईश्वरको ध्यान भङ्ग होस्
आँखा खोल्दा देखोस् आफ्नै अगाडि
विद्रोहको आगो ओकलिरहेको पहाड
बादलको डोरी समाएर ताराहरू ओर्लिऊन्
मृत्यु कुरिरहेका वृद्धवृद्धाहरूको
चाउरिएको अनुहार सुमसुम्याउन्
हिंड्दै अनाथाश्रम पुगेर
अभिभावक गुमाएका असंख्य बालबालिकाहरूसित
एकछिन लुकामारी खेलून्
समय सँगसँगै यस्तो समय आओस्
जसले आफैंले बिर्सिन चाहेका यादहरूलाई
हरक्षण सम्झाइरहोस् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।