रित्तो-दुब्लो-निरीह बागमती
एकाएक के भएको ?
उभारमा छ
आवेगमा छ
रोषमा छ
आज त बागमती,
के छ- के छ !

अरू वेला उसैमाथि
मति छाड्नेहरू विरुद्ध
आक्रोशित छ
तम्सिएको छ
सोझिएको छ
आज त बागमती
के छ- के छ !

सहनशील छैन
निरीह पनि छैन
ऊमाथि शोषण चलाउने विरुद्ध
उन्मादमा छ
उछालमा छ
उन्मत्त छ
आज त बागमती
के छ- के छ !

पर्खिएको छैन
लम्पसार पनि छैन
उसको सौम्यता लुट्ने विरुद्ध
ब्युँझिएको छ
उभिएको छ
जागेको छ
आज त बागमती
के छ- के छ !

विनम्र छैन
शिथिल पनि छैन
उसलाई कमजोर देख्ने विरुद्ध
प्रतिकारमा छ
विद्रोहमा छ
उर्लंदो क्रान्तिमा छ
आज त बागमती
के छ- के छ !