प्रिय छोरी !
हृदयमाँझ सँगालिएका मिठा यादहरु खर्चेर
मनका तरेलीबाट सम्झिरहेछु
जिन्दगीको लामो यात्रामा गन्तव्यको भारी बोकेर
खियाउँदै खियाउँदै आशाको डुङ्गा
तिम्रा नयनबाट अलि टाढा छु र याद गरिरहेछु तिमीलाई
निध्रुक्क भिजेका विगतलाई वल्टाई पल्टाई गरिरहेछु
अतीतका आकृतिहरूमा घोत्लिएर देश नियालिरहेछु
सगरमाथा टल्किरहेछ सर्वोच्च चुली हूँ भन्दै
लुम्बिनी छर्दैछ शान्तिको सन्देश गौतम बुध्द बन्दै
डाँडैभरि लालीगुराँस, सयपत्री र पाखैभरि पलाँस फुलाइरहनू
स्वर्ग भन्दा सुन्दर छ नेपाल, स्वर्ग खोज्न अन्त कतै नजानू
फ्याँकेर निराशाका काला बादल
आशाको चम्किलो दीयो बनेर युवाले
अब डोर्याउनुछ देश
च्यातेर जेलिएका जालोहरू
ठड्याउनु छ सुशासनको अग्लो धरहरा
सुविचारको साँच्चै खाँचो छ देशमा
अपूर्ण हजारौं आयोजनाहरू
मान्छेका मृत्यु कुरिरहेजस्ता जीर्ण सडकमार्गहरू
धिक्कारी रहेछन् निर्लज्ज पुराना शासकहरू
नयाँ आविष्कार र नयाँ आयामहरू
गिज्याइरहेछन् युवा पुस्ता
प्रिय छोरी
बेथितिलाई निर्मम भएर पल्टाउन सक्नुपर्छ
कानूनका कोरा किताबहरूलाई
व्यवहारको कसीमा ढाल्न सक्नुपर्छ
मनका कुत्सित कसिङ्गरहरूलाई
सुविचारको कुचोले बढार्नु पर्छ
छरपष्टिएका कुविचारहरूलाई
सुशासनको आरनमा गाल्नुपर्छ
सुनझैँ खार्नुपर्छ
मणिजस्तै चम्किलो पार्नुपर्छ
च्यातेर राहदानीका पानाहरू
दास मानसिकता त्याग्नुपर्छ
मातृभूमिको सेवा गर्ने दृढ सङ्कल्प लिनुपर्छ
मुहार फेर्न यो देशको अब तरिका बदल्नुपर्छ
प्रिय छोरी !
मुलुकको सुदूर भविष्य र समृध्दिका लागि
हार्दिक शुभकामना तिमीलाई ।
(रम्भा-३, पाल्पा, हाल : तिलोत्तमा नगरपालिका- ५, नयाँपथ, मणिग्राम, रुपन्देही)