सयौँ भारी उठाएको
कयौँ उकालो चढेको
ओरालो झरेको
अनुभव छ ऊसँग

बिसौनीमा भारी बिसाएर
लामो सुस्केरा हाल्छ
थकान र भारीले आहत छ
असिन, पसिन छ
पसिना उसलाई सोध्दैछ
यत्रो विधि किन ?

तरक्क पसिना नितार्दै
हरियो पात हम्कन्छ
उदर निमितं वहुकृत भेषं

आज मात्र होइन यस्तै
प्रत्येक दिन यो उकालो
यस्तै भारी
यही प्रक्रिया
यही प्रकृति
उसको हरेक दिन यसरी नै बित्छ

यो उकालो उसका लागि
उकालो नै होइन
यो भारी उसका लागि भारी नै होइन
जीवनमा कति उकालो काटिए
अति नै गह्रङ्गो भारी उठाइयो
भारी, भारी छेलो
उठाएको छ उसले

भारी बोक्दा बोक्दा
नाम, थर नै फेरि सकियो
भरिया दाइ बनी सक्यो
नाम, थर मात्र होइन
वतन, हुलिया नै फेरिएको छ

भरियाको उकालो
भरियाको गाउँ
भरिया हिँड्ने बाटो
भरिया भेट्ने चोक
भरियाको डोको
भरिया बिसौनी
नयाँ नाउँ, गाउँ र पहिचान बनायो

आखिर भारी सबैसँग हुन्छ
जिम्मेवारीको भारी
कर्तव्यको भारी
जवाफदेही भारी
पिठ्युँमा राखिएको
डोकोभन्दा गह्रुँगो हुन्छ

ऊ सधैँ काट्थ्यो उकालो
तरक्क पसिना पुछ्दै
यसरी उठाउँथ्यो भारी ।

परशुराम ५, विष्णुपुर, डडेल्धुरा