सत्यको आँचलमा शक्तिको खेल चल्दै छ,
ऊ भन्छ तँ रोए जस्तो गर् म कुटे जस्तो गर्छु,
ऐनाले देखाएको स्पष्ट तर वादल लागेको अनुहार झैँ,
परिवर्तनको नाममा स्पष्ट उहीँ, उहीँ झूट चल्दै छ

ऐना झल्काउँछ सधैं अनुहारको चित्र,
तर यहाँ बदलिएन सत्यको स्वरूप,
सोच फेरिएन, गिदी फेरिएन, ऐना फेरिएन,
टाउको फेर्दा पनि भित्रको नियत फेरिएन

छ यहाँ चर्केको ऐना, चर्केको समाज,
तस्वीरहरू विकृत, सोचहरू अधूरा,
कहिले बदलिएला अवस्था यस्ता,
के ऐनामा सत्य र न्याय प्रकट होला त ?

आफ्नै अनुहारको प्रतिविम्ब हेरेर,
अर्कालाई दोष दिने चालबाजी,
यिनै हुन् ऐनाका भ्रान्तिमय चित्र,
नयाँ ऐना चाहिन्छ, सत्यको उज्यालो ल्याउन ।

चर्किएको ऐनामा, परावर्तित दृश्य,
बिचारहरू फुटेको समाजको प्रतिबिम्ब,
जतिसुकै सुम्सुम्याए पनि, सुसारे पनि
देश दुखेको ऐनामा बदलिन सक्दैन

अब चिर्नुपर्छ यो ऐनाको भ्रम,
गर्नुपर्छ टाउको र गिदी, सत्यको मेल,
लु आउ हेरौँ आफ्नै अनुहार ऐनामा,
गरौं अन्यायको विरुद्ध उठ्ने साहस,
र फुटाँऊ ऐनाको भ्रम आजै, नभनी भोलि !

हालः क्यालगेरी, क्यानडा