वर्षौं भएछ त्यो आँगन छाडेको
अक्षरका साथ लागी
अन्तःप्रकाशको यात्रा गरौँ भनी
अक्षरै अक्षरको घना बस्तीमा
मस्त म यायावर
आज म परदेशी
आफ्नै घरको
शब्दका आकार र लयमा
छरिएका अनेकौँ मानवाकृति
जोड्जोड्दा
आफ्नै अन्तराकृति
छरपष्ट भएको पत्तै भएन
यी काला चिसा शब्दहरूमा
टाँसिएका प्रेमका अर्थहरू केलाउँदा केलाउँदै
आडैमा
आफैँलाई कुरी बसेको न्यानो प्रेम
चिसिएको होशै भएन
म खोज्दो छु प्रेम
शब्दका झङ्कारमा
पंक्तिका चालमा
कविताका सुडौल बनौटमा
दर्शनका संवादमा
बाहिर कतै
सदा आफूभन्दा बाहिर कतै
जीवनको परिभाषा रट्दो छु
जीवनबोधको यत्नमा
आफैँबाट टाढा कतै कुद्दो छु
जीवनको खोजीमा
शब्दको वन्यतामा
अनेकौँ अपरिचित पात्रका साथ लागी
आफ्ना प्रियजनलाई बिर्सिएर
यात्रारत छु म
शब्दका नौला बस्तीहरूमा
श्वेत उजाड
तर सदा उर्वर सीमाहीन भूमिमा
अक्षरका बिऊ छर्दै
शब्दका नयाँ नयाँ बस्ती बसाल्दै
हर पल टाढिँदो छु
आफ्नै बस्तीबाट
आफ्नै प्रियजनबाट
आफू आफैँबाट
हिँडेको मार्ग स्मृतिबाट मेट्दै मेट्दै
फर्की आउने कुनै निधो छैन
भनी छाड्को छु आफन्तजनलाई
बारम्बार भन्ने गर्छु यता फोनबाट
फुर्सदमा सम्झिनु
तर मलाइ कुरी दैलामा बत्ती नबाल्नू ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।