जनता उठेपछि
वर्षाको खहरे जस्तै गरी उठ्छ
बगाएर लान्छ शासकका सत्ताहरू
ढल्छन् तिनका आलिशान महलहरू
लखेटिन्छन् कुटिन्छन् दिन दहाडै
बढारिन्छन् शासकहरू
ज्यान बचाउन भाग्छन् परदेश

जनताको धैर्यबाँधलाई
कम आँक्नेहरू हो
हेर श्रीलङ्का र बाङ्गलादेश
हेर अफगानिस्तान
जनचाहनालाई लात हानेपछि
जनताले दिएको शक्तिलाई
आफ्नै पेवा ठानेपछि
कुटुरो कुम्लो कस्नसमेत नभ्याउँदै
छाड्नुपर्छ देश

निराशाको बादल यता पनि उस्तै छ
जनताका आँशु बग्दैछ कोशी बनेर
देख्दैन शासक
सुन्दैन सिंहदरबार
रमिता हेर्न मस्त छन्
जनताका प्रतिनिधिहरू
दशकौँदेखि आलोपालो सत्ताको चास्नी
चाख्दैछन् सीमित मान्छे
बढ्दो छ भ्रष्टाचार र बेथिति
परदेशिदै छ युवा

शिक्षा, स्वास्थ्य र रोजगारमा लागिरहेको छ सिन्डिकेट
एक चक्की सिटामोल खान नपाएर
मरे बिर्खे र सुन्तली
सुत्केरी हुन नसकेर बितिन् रामकला
पढ्नसमेत जाँदैन पल्लाघरे ठूले
छैन कापी, कलम र किताब
एकसरो लाउन पनि त दशैँ आउनुपर्छ
खै कहाँ छ गल्ली गल्लीको सरकार ?
कहाँ छ अभिभावकत्व ?

जनऔकात भन्दा माथि छन्
गाँस, बास र कपास
महँगीले थिचिरहेछ घाँटी
पाइला पाइलामा ठगिन्छन् आममान्छे
भनूँ, सरकार आफैँ ठग हो
ठग्दैछ बबुरा जनतालाई
ठगहरूबाट आजित छन् जनता
भोको पेटले सपना देख्न कहाँ सजिलो छ र ?

तर, यहाँ पनि
भोक, अभाव र निराशाको आगो सल्किसक्यो
दन्किन मात्रै बाँकी छ
सलाई कोरेर कसैले फालिदिए
बल्नेछ दनदनी
अनि जल्नेछ शितल निवास, बालुवाटार र सिंहदरबार
लखेटिनेछन् दशकौँदेखि रजाइँ गर्ने शासकहरू ।