गाउँमा भर्खरै बनिएको छ नयाँ चौतारो
मसँग कसैलाई सोध्ने साहस छैन‑
कि यो चौतारो कसको हो ?
किन किन मलाई यस्तै लागिरहेछ
त्यो मेरै दौँतरीको चौतारो हो
भेला भएर साँझमा
जोसँग हामी समानताको कुरा गर्थ्यौँ

त्यो मेरी प्रेयसीको चिहानजस्तो छ
एकान्तमा भेटिएर हामी
नयाँ बिहानीको कुरा गर्थ्यौँ
अथवा
हाम्रा साझा सपनाहरूको मृत्युघोषणा

तन्नेरी सपनाहरूको लाश
त्यो बन्दुकले लेखेको
वीभत्स इतिहास हो

थाहा छैन !
स्वाभिमानले कतिले शिर उचाले उसको मृत्युमा
कतिले खुसीले उल्लास बाँडे उसको मृत्युमा

तर किन राख्यौ उसको चौतारो उसैको घरबारीमा ?
आमाका आँशुले प्रत्येक दिन चोली रुझाउन
कि बाबुको जाँगर प्रत्येक दिन गलाउन ?

टुँडिखेल अगाडि उभिएको
जङ्गबहादुरको घोडा ढालेर
उसको शालिक त्यहाँ उभ्याएको भए के हुन्थ्यो ?

चोकैपिच्छे महाराजाका मूर्तिहरू भत्काएर
उसको मूर्ति त्यहाँ बनाएको भए के हुन्थ्यो ?
किन राख्यौ उसको चौतारो उसैको घरबारीमा ?

कुन आमाले स्वाभिमानले बोल्न सकिन् होलिन्
उसको सन्तानको मृत्यु घोषणामा शहीद भने
कुन बाउले छाती फुलाए होलान्

आफ्नो अगाडि सन्तानको
स्मृति उभ्याएर बोलाउँछन्
चाँडपर्वमा आउँदैन उठेर चौतारो

हेर्छन् रित्तो छ उसले लेख्ने टेबुल
थन्किएका छन् उसले पढ्ने किताब

एउटा दिनचर्या बाउआमाको–
‘एकपटक गएर छोयो आमाले चौतारोलाई
एकपटक गएर छोयो बाबुले चौतारोलाई ।’
किन राख्यौ उसको चौतारो
आमाबाउको आँखामा ?

कति बनायो बन्दुकले यस्तो चौतारो ?
सम्झन्छु कति रित्यायो आमाको काख ?

कति पुछ्यो सिउँदाको सिन्दुर ?
कति टुहुर्‍यायो कलिला नानीहरूलाई ?

प्रश्नैप्रश्नको यो सगरमाथा कहाँ पुगेर ढल्ने हो ?
तर मसँग कसैलाई सोध्ने साहस छैन
गाउँमा भर्खरै बनिएको छ नयाँ चौतारो
लेखिएको छ यसको परिचयः
क. तुफान स्मृति
जन्मः २०४३
सहादतः २०५७
उसको सम्मानार्थ प्रत्येक दिन
बन्दुक बोकेर परेड खेल्छन् मान्छेहरू ।

 

पुरानो घर

वर्षौंपछि एक ‘गुमनाम’ घर फर्कियो भने
शायद घर पुरानो भैसकेको हुनेछ

पुरानो घरको
चोयाका बन्धनहरू टुटिसकेका हुनेछन्
डाँडाभाटा मक्किएर
उसैको हजुरबाको चिहानको हड्डीजस्तो भैसकेको हुनेछ
यति भएर पनि लडेका ती दिवारका चेपबाट
भत्किएको सिकुवाको डिलमा
उसको मनपरेकी
बुढी हजुरआमा र आमाको अनुहार
एकैपटक हाँस्दै उदाउनेछ
र त्यहीँ कतै फेरि अस्ताउनेछ

कान्छो भाइ र सानी बहिनीलाई
उसले त्यतिबेलै सम्झिने छ
चुह्लाको ज्वाला नदन्किए पनि
गाग्रीमा पानी नभरिए पनि
कसैले उसलाई नबोलाए पनि
आँगनको डिलमा रोपिएको
एक गुलाब भने मुस्कुराइरहेको हुनेछ
र ऊ त्यसैको नजिक एकोहोरिएर मुस्काउनेछ

यदि त्यहाँ कोही आएर
‘यो गुलाब कसले रोप्यो ?’
भन्यो भने
त्यही पुरानो घरको डिलमा उभिएर
उसले यसको उत्तर भन्न चाहने छैन
वा उसले यसको उत्तर भन्न सक्ने छैन
अथवा उसले यसको उत्तर कहिल्यै भन्नेछैन ।

हलेसी तुवाचुङ नपा-६
खोटाङ