तेरै छातीमा टेकेर
वारपार गर्नेहरू
अहिले,
कोही वडामा छन्
कोही रुख, कोही सूर्य
अनि कोही हँसिया हतौडामा छन्
कोही नगरमा छन्
कोही बगरमा छन्

वर्षातको भेलले बगाएर
ढुङ्गा माटोले तेरो शरीर थिची रहँदा
तेरो दुःखपीडा कसले बुझिदियो ?
हुन त
तेरै हातहरू समाएर
गन्तव्य खोज्दै दौडिनेहरू
कोही परदेशको खाडीमा छन्
कोही सरकारी गाडीमा छन्

जसका लागि घामको चटारो
पानीको छालसँग लडिरह्यो
आज तिमी बगिरहँदा, डुबीरहँदा,भत्किरहँदा
तिमीलाई हेर्न सयौँको भीड आयो
तर कसैले पनि तिम्रो पीडाको महसुस गरेन
शायद, यसैलाई भनिँदो हो स्वार्थी दुनियाँ ।

डडेलधुरा, नेपाल