म केटाकेटी हुँदा
अक्षरहरूले मलाई भने –
“हामी अक्षर छौं
तिमी क्षर छौ
अनि निरक्षर छौ
तिमी हामीलाई वरण गर
हामी तिमीलाई वर दिन्छौं
तिमीलाई तिम्रा रहर दिन्छौं
ओममा हामी नै ‘अ’ देखि ‘म’ सम्म छौं
हामी नै कहिल्यै न नासिने ब्रम्ह हौँ
तिमी अन्जान छौ
हामी तिमीलाई पहिचान दिन्छौं
तिमी अज्ञ अनि अनभिज्ञ छौ
हामी तिमीलाई विज्ञ बनाइदिन्छौं
हामी अक्षर हौँ, हामी अमर छौं
तिमी मान्छे हौ, तिमी मर्छौ
हामीलाई बस्न मन्दिर देऊ
हामीलाई तिम्रो शरीर देऊ”
अक्षरहरूलाई मैले उनीहरूको नियत सोधें
कुनै कैफियत छ कि भनेर सोधें
अक्षरहरूले मलाई भने –
“हाम्रो कुनै स्वार्थ छैन
तिमीले कुनै अर्थ निकाल्नु हुँदैन
पछि तिमीलाई मन लागे
हामीलाई तिमीबाट
पाटी-पाटीमा सारिदेऊ
किताप-कितापमा सारिदेऊ
कागत-कागतमा सारिदेऊ
तिमी जस्तै
बालक-बालकमा सारिदेऊ ।”