कोठाको एक कुनामा
जुठा भाँडाका डंगुर छँदैछ
मनमा आशाका अंकुर छँदैछ
अरू के छ र ?

एक जोर चप्पल दैलोमा
कुरेर बसेको होला खुट्टालाई
ढोका बन्द छ
अरू के छ र ?

कामना यही रह्यो
केही नयाँ गरौँ
कल्पनाका सागरमा पौडेकै छु
अरू के छ र ?

धमिलो लाल्टिन साक्षी राखेर
किताबका पोका फुकाएकै छु
नाकको प्वालमा ध्वाँसो
कटक्क जमेकै छन्
अरू के छ र ?

कुकरभित्र भात
भातभित्र गिलास
गिलासभित्र दाल भर्सेकै छ
अरू के छ र ?

आँखा मिच्दै चिसो स्याँठमा
दगुरेकै छु
हुत्तुरेकै छु
अरू के छ र ?

दिन गन्यो महिना गन्यो
वर्ष त यस्सै बितिरहेछ
उद्योगको ढोका ढक्ढक्याकै छु
अरू के छ र ?

मिल्दैन र मात्र चाहेको चिज
डाह लाग्छ हारेको चिज
मान्छे हुँ संघर्ष गरेकै छु
अरू के छ र ?

अझै गर्छु गरिरहेछु
आशाको त्यान्द्रोमा दौडिरहेछु
चप्पलको साथ छ
अरू के छ र ?

चुँडिने छ चप्पल
घिसार्ने छु पैताला
चिहाउनेछु भविष्य
हार मान्ने छैन नभेटुन्जेल
मनको धोको नमेटुन्जेल
अरू के छ र ?