झर्यो भर्खर उडेको जहाज तल जमीनमा निमेष भरमा;
जानु थियो बायाँ हुँदै पोखरा उसलाई, तर मोडियो “रनवे”को दायाँ किनारमा
खराबी इन्जिनमा हो कि त्यसलाई चलाउने मानिसमा, त्यो बिस्तारै अनुसन्धान होला;
तर मर्दा १९ मा १८, बाँच्ने १ जनालाई पक्कै दैविक शक्तिले नै बचाएको होला
कस्तो अनौठो संयोग!
त्यो दैविक शक्ति अरु नभएर छेउमा राखेको कन्टेनर भएछ;
जहाज भुइँमा ठोक्किएर निकै पर उछिट्टिँदा, “ककपिट” चाहिँ कन्टेनरमै अड्किएछ
अनि त, उच्छिटिएको भाग भित्र अरु सबैलाई आगोले लपेट्दा;
पाइलटलाई चाहिँ त्यही “कालमोचक कन्टेनर”ले बचाएछ !
“जीवन-मरण लेखेकै हुन्छ” भन्थे, हो कि भन्ने भान भएको छ;
सम्झँदै कहालीलाग्दो दुर्घटनामा पर्दा पनि मान्छे मिति नआई मर्दो रहेनछ
उता पहिरो र बाढीले दुइटै बस बल्याङ् खाँदै बगाउँदा पनि, ६५ मध्ये ३ जना यात्रु मात्रै सकुशल छन्;
अनि यता १९ मा १८ जना जल्दा र क्षतविक्षत हुँदा, एक जना पाईलट मात्रै बाँचेका छन्
कहिले फुटेको झ्यालले रोक्यो कठोर काललाई त कहिले बीचमा अड्किएको ककपिटले;
भीरमा बस लड्दा मृत्यु छलेकाको कथा त धेरै सुनियो, तर कन्टेनर पनि कालमोचक बनेको आज देखियो
जीवन-मरण लेखेकै हुन्छ भन्थे, हो कि भन्ने भान भएको छ;
सम्झँदै कहालीलाग्दो दुर्घटनामा पर्दा पनि मान्छे मिति नआई मर्दो रहेनछ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।