(१)
रानीका वफादार आज्ञापालक
मिहिनेती ती कर्मी माहुरीहरू
जो श्रम गर्नैको लागि जन्मिएका हुन्
जो प्रकृतिको सेवा गर्दागर्दै इहलोक छोडेर जाने हुन्
आफ्नो लागि मात्र नभएर
आफ्नो परिवारको दैनिक जीविकाको खातिर
भुनभुनाउँदै पुष्परसको खोजीमा भौँतारिँदै जाँदा
भेट्छन् सुरम्य सौरभ बाटिका
गुनगुनाउँदै मायापिरतीका भाकाहरू
टाँसिन्छन् पुष्पकको प्रेमिल आलिङ्गनमा
मानौँ, लामो समयान्तर र व्याकुल छटपटिपश्चात्
बाहुपासामा बेरिन पाएका छन् प्यासी प्रेमी-प्रेमिकाहरू
(२)
अप्रकट तर स्नेहिल भावले स्वागत गर्दै
खुशीखुशीले सुम्पियो फूलले उसको सुगन्धित तारुण्य
मदहोस् भई पियो पुष्परस र भर्यो थैली कर्मीले
चाहार्यो खेतबारी, बाग र वनपाखाहरू
चुम्यो ओसिला फाँट र मनोहर पाटनहरू
अनि पाहारिला भीर र पहाडका काखहरु
फर्क्यो घारमा फूलको सप्रेम उपहार बोकेर
गर्यो नित्य यात्रा र कर्म जीवनपर्यन्त यसरी नै
माहुरीको त निःसन्देह निहित स्वार्थ छ फूलप्रतिको समर्पणमा
उसको जीजिविषा त सम्भव छैन फूलबिना
रमाउनुछ बारी, वन र भीरपाखा चहारेर हरदिन
जोगाउनुछ रानीको इज्जत र सत्ता
र पाल्नुछ आफ्नो झुण्डलाई भोजनको इन्तजाम गरेर
के फूलको नि हुन्छ र कुनै स्वार्थ माहुरीसँगको आशक्तिमा ?
नत्र किन गर्छन् आफ्नो सौन्दर्य प्रदर्शन
किन फैल्याउँछन् सुवास र मादकताका रङ्गीन तरङ्गहरू
किन गर्छन् आग्रह रसपानमा डुबुल्की मार्न अञ्जान आगन्तुकहरूलाई ?
(३)
शायद
अव्यक्त प्राकृतिक बाध्यता छ यी निश्चल पुष्पकहरूको
वंश-निरन्तरताको सुर्ताले पो हो कि ?
प्रकृति-प्रदत्त प्रजनन क्षमता भएर पनि
कामातुर र बेचैन हुँदाहुँदै पनि
असामर्थ्य छन् भौतिक-रतिक्रीडाको लागि
पुकार्नु पर्छ पवन, जल र जीवहरूलाई
किनकि प्रकृतिले जीवन-सौन्दर्य त दियो
तर गतिशीलता र वाक्शक्ति दिएन
पुष्पक लतावृक्षबीच परागसेचन गराई
वंश-निरन्तरताको सहारा बनिदिन्छन् माहुरी
बुझिनसक्नु छ यो अन्तर्सम्बन्ध
सजातीय सम्बन्धको सेतु विषम वर्गीय परागसेचक !
कालखण्ड बित्दै जाँदा
प्रकृतिउपर मान्छेको अधिपत्य बढ्दै जाँदा
स्रोतहरूको कहालीलाग्दो दोहन हुँदै जाँदा
प्रकृतिका स्वनिर्मित प्रणालीहरू
जैविक-अजैविक अन्तर्क्रियाहरू
जीवन-सम्बन्धहरू
खिइँदै र पातलिँदै गइरहेका छन्
संकटमा छन् अनगिन्ती जीवहरू
संकटमा छन् पुष्पित वनस्पतिहरू
चुनौतीपूर्ण बन्दै गएको छ अन्तर्निर्भरता
तिलमिलाएका छन् बिचरा माहुरीहरू
पीरो र आँखै बिझाउने धुवाँ, धुलो र तुवाँलोले
दिशाहीन भै बरालिएको छ यात्रा र गन्तव्य
डढेका छन् प्राकृतिक वासस्थान
विस्थापित र तितरबितर छन् आफन्तहरू
ओइलाएका, सुकेका र राख भएका छन् असंख्य लता वृक्षहरू
बढ्दै गएको छ किसानहरूको विषादी-मोह
पुष्परसमा अन्तरघुलित मन्दविषको असरले
अधिक रासायनिक मलको प्रयोगले
माटो, पानी, वायु र समग्र पर्यावरणमा बढ्दो प्रदूषणको असरले
तापमान र जलवायु परिवर्तनको असरले
अकालमै कालको प्रिय भएकी छन् रानी
सर्वनाश भएको छ परिवार र रित्तिएको छ घार
क्षीण हुँदै गएको छ पुष्पकहरूको प्रजनन-शक्ति
खलबलिँदै गएको छ खाद्य जालो र पारिस्थितिक प्रणाली
(४)
विचित्र छ जैविक विविधताबिचको अन्तर्सम्बन्ध पनि –
पुष्पकहरूको प्रजननको सेतु
र वंश-निरन्तरताको सहयोगी हुन माहुरी
यीबाहेक को छन् र यो धरामा
जसले फूलसँग मित्रता गाँसेर पुष्परस पिओस् र मधुरस ओकलोस् !
साँच्चिकै माहुरी त-
मधुर गुञ्जन हो प्रेमको
अमूल्य वरदान हो प्रकृतिको
पवित्र सगुन हो सम्बन्धको
प्रतिविम्ब हो इमान्दर र वफादारीको
परिसूचक हो स्वस्थ पर्यावरणको
हेर्दा सानो तर महत्ता अतुलनीय !
तसर्थ,
स्वस्थ पर्यावरण पुनर्स्थापनाको खातिर
लाखौँ पुष्पकहरूको संरक्षणका खातिर
बीसौँ हजार प्रजाति माहुरीहरूको संरक्षणको खातिर
अमूल्य जैविक विविधताको संरक्षणका खातिर
प्रकृतिको निःस्वार्थ सेवाभावमा समर्पित होऔँ ।
जय प्रकृति !
*****
हालः काठमाडौँ
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।