जसरी बगेर जान्छ नदीको पानी
जसरी पड्केर जान्छ बन्दुकको गोली
जसरी ओइलाएर जान्छ बगैंचाको फूल
त्यसैगरी जानु छ हामीले पनि
कहिल्यै नफर्किने गरी अनन्त यात्रामा

भोग्न आएका हौं भोग्नुपर्छ
हिंड्न आएका हौं हिंड्नुपर्छ
दुख्न आएका हौं दुख्नुपर्छ
हाँस्न आएका हौं हाँस्नुपर्छ

पहाडमा पनि त पहिरो जान्छ
हिमालमा पनि त हिउँ पग्लेर जान्छ
ताराहरू पनि त उज्यालो नहुँदै बिलाई जान्छन्
मान्छेको जिन्दगी हो !
दुःख हुन्छ
सुख हुन्छ
आरोह–अवरोह आउँछ/जान्छ

एकदिन बिलाई जाने जिन्दगी हो
घमण्ड र अहंको पहाड भत्काउँदै
आफैंले आफैंलाई चिन्नुपर्छ
जानुछ एकदिन सबैले
नफर्किने गरी अनन्त यात्रामा
जसरी वीरेटेठाँटीको छाती कुल्दँदै
मोदी खोलाको किनारालाई सुम्सुम्याउँदै
बग्दै–बग्दै गए पुर्खाहरू
जाने मिति क्यालेण्डरमा
लेखेरै आएका हुन्छौं सबैले
जुन मिति हामीलाई नै थाहा हुँदैन ।