बाले सन्तानका लागि सबथोक जोडे
भोलि के खालान् भनी सम्पत्ति जोडे
पुर्ख्यौली धरोहरको संस्कार जोडे
अपमान झेले, तिरस्कार भोगे
सन्तानको सुरक्षा सोचे
दारपात ढुङ्गा बोके, पानी खेपे
घर ठड्याएर गौरव गरे
बलियो खाँबो गाडेकोमा
स्वाभाविक उत्साहले फुल्यो बा’को छाती
हेर्दाहेर्दै समय फेरियो आज-
बा’ले बनाएका घर रित्तै छन्
आमाले बालेको चुलोमा
माकुराले जालो लगाएको छ
पन्यौटाका काठ मम्किएका छन्
धन्सार र भकारी रित्तै छन्
गोठमा वस्तुभाउ छैनन्
मूल ढोकाको ताल्चाले गिज्याउँछ आउनेजानेलाई
आँगन झारले ढाकेको छ
वनमाराको कमी छैन आज
परदेशिएका आफन्त सम्झेर
प्रतीक्षामा छन् थाम र दलिनहरू
रोगन लगाउने मान्छे आउँछ कि ?
प्रश्न गर्दै छन् भित्ताहरूले
पोत्ने मान्छे जिउँदै होला कि ?
हिजो जहानहरूले गुल्जार घर
आज एक्लै गन्ट्यौना गरिरहेको छ
हिजो संसार नै स्वर्ग ठानिएको घर
आज घाँडो भएको छ स्याहार्न
घरसँगको नाता फाटिएपछि
भएको जेथा भाटिएपछि
किन फर्कन्थ्यो र मान्छे गाउँमा ?
बस्ती उजाड हुँदा पनि चिन्ता छैन कसैलाई
राज्य हाँक्नेहरू भागबन्डामै किचलो गर्छन्
भविष्यका कर्णधारहरू
विदेशिनुमा गौरव गर्छन्
जिजुबाजेका आत्माको के प्रवाह उनीहरूलाई
फगत भौतिक सुखमै
इतिहास र पहिचान मेट्दै छन्
नेपाल आमाको घाँटी रेट्दै छन्
मात्र भौतिक सुखको ताकमा !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।