नारीले कहिल्यै थाक्नुहुँदैन
भावना र संवेदना ताक्नुहुँदैन
जति आइलाग्छ काम हाप्नुहुँदैन
रोकिने पाइला नाप्नुहुँदैन
मान्नु रे आदेश नभनी भो
किनकि नारी मेसिन हो
तातो खोज्नेलाई तातै दिनुपर्छ
चिसो खोज्नेलाई चिसै दिनुपर्छ
गुनासो कसैको राख्नुहुँदैन
इशारा आफ्नो ताक्नुहुँदैन
निभाए निभिदिनुपर्छ
सल्काए बलिदिनुपर्छ
मान्नु रे आदेश नभनी भो
किनकि नारी मेसिन हो
पसिना पुछ्नु परे पनि
पिठो मुछ्नु परे पनि
कपाल बटार्न तन्काउन
कपडा उजिल्याउन
भुवा टिप्न, धुलो टिप्न
उध्रेका खिप्न, अचार थिच्न
मसला कुट्न, मही मथ्न
आइपरे जे पनि सोर्न, पुछ्न
तम्तयार जहिल्यै बस्नुपर्छ
हरेकका दिलमा पस्नुपर्छ
मान्नु रे आदेश नभनी भो
किनकि नारी मेसिन हो
जवाफ फर्काउनुहुन्न
आँखा तर्काउनुहुन्न
हर्षमा गद गदाउनुहुन्न
पीडामा बर्बराउनुहुन्न
नसामा झनै झुम्नुहुन्न
प्रेमले आफैँलाई त चुम्नुहुन्न
रहरले कतै घुम्नुहुन्न
काम यो गर्छु गर्दिन चुन्नुहुन्न
मान्नु रे आदेश नभनी भो
किनकि नारी मेसिन हो
धारमा रेटे रेटिनुपर्छ
झटारो बनी बत्तिनुपर्छ
काम हुञ्जेल भाँडो नत्र ठाँडो भनी
कवाडीमा सित्तै नमिल्किन पनि
कि त फेशन जानुहुँदैन
कि कस कतै लाग्नुहुँदैन
कि बिझाउन काँडालाई हुँदैन
कि रिझाउन भुल्नहुँदैन
मान्नु रे आदेश नभनी भो
किनकि नारी मेसिन हो
यो मेरो घर दाबी नगर्नु
यी मेरा आफ्ना भ्रममा नपर्नु
सिनित्त काम बेलैमा सक्नु
मनका व्यथा मनैले बक्नु
सकिन्छ गर्नु दिइएका काम
भोको छु भनी नखोज्नु माम
मिल्किनुपर्छ जानेर पनि
चल्दैछ चल्नु धर्म हो भनी
जो पनि थिच्छ बटन उसैका
नमानी हुन्न खटन कसैका
मान्नु रे आदेश नभनी भो
किनकि नारी मेसिन हो
ढालिनुपर्छ अनेक ढाँचामा
जसले कजाउँछ उसकै साँचामा
कहिले फ्रिज बनेर, कहिले हिटर
कहिले वासिङ मेसिन कहिले मिटर
कहिले डिस वासर कहिले भ्याकुम क्लिनर
कहिले मोटर कहिले डोजर
कहिले के कहिले के
काम अनेक नाम अनेक
दुनियाँको युग फेरियो भन्छन्
आफ्नो त उही श्रम नै गन्छन्
हलो, बञ्चरो, कोदाला पाखा लाग्दा
को देख्छ मेरो जीवन थाक्दा
पहिचान नामेट अधिकार चेट
निरीह छु र भन्छु सकेजति रेट
मान्नु रे आदेश नभनी भो
किनकि नारी मेसिन हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।